औतिपुवालाई विस्थापन गरेको दहि-चिउरे सँस्कृति
सालिक राम कोइराला
हामी सानो छँदा रोपाईंमा खाजा “औतिपुवा”खाने प्रचलन थियो। आहा ! आज त औतिपुवा खान पाईन्छ भनेर रोपाईंको दिन स्कुलै गईन्नथ्यो। रोपाईंको दिन आउन हप्तादिन बाँकि छँदै औंला भाँचेर बसिन्थ्यो, औतिपुवा खान पाईन्छ भनेर। खेत नजिकैको ठाँटी,चौर,बडेमानको ठुलो ढुङ्गा, आलि-कान्ला वा छहारीमा बसेर सक्नु मजाले खाजा खाईथ्यो-औतिपुवा र केराको बोंगोको अचार।
औतिपुवा चामललाई झाँतामा पिसेर बनाईएको एक प्रकारको पोषिलो र स्वादिष्ट खान्कि हो। सोंप,घिउ,बेसार र रोगब्याधबाट लड्न सक्ने अन...


