काठमाडौँ – नेपाली समाजमा अझै पनि जरा गाडेर बसेको लैङ्गिक विभेद र छोरीलाई शिक्षाबाट वञ्चित गराउने परम्परागत सोचविरुद्ध सशक्त आवाज उठाउँदै नयाँ चेतनामूलक बालगीत सार्वजनिक गरिएको छ।
गीता त्रिपाठीको मार्मिक शब्द, विशाल ढकालको सङ्गीत र बालगायिका रेबिका पण्डितको सुमधुर स्वरमा सजिएको उक्त बालगीत ‘बालगीत स्टुडियो एचडी’ (Baalgeetstudiohd) युट्युब च्यानलमार्फत आज सार्वजनिक भएको हो।
विश्व परिवेशमा विकसित मुलुकहरूले लैङ्गिक समानतामा फड्को मारिसक्दा पनि नेपाली समाजमा अझै छोरीले ‘भाइलाई जस्तै मलाई पनि पढ्न पठाउनुस्’ भनी अनुनय गर्नुपर्ने बाध्यता विद्यमान छ। यही सामाजिक यथार्थ र विडम्बनालाई गीतले मुख्य विषयवस्तु बनाएको छ।
गीतको रचनाबारे बोल्दै गीतकार गीता त्रिपाठीले छोरीलाई ‘पराई घर जाने जात’ भन्दै भान्सा र घरायसी काममा मात्र सीमित राख्ने तथा उमेरभन्दा ठुलो कामको बोझ बोकाएर परनिर्भर बनाउने पितृसत्तात्मक सोचविरुद्ध यो सिर्जना जन्मिएको बताउनुभयो। उहाँले भन्नुभयो, “म जस्तो लैङ्गिक विभेदरहित घरमा हुर्किएकी छोरीको अनुभूतिमा आधारित भएर यो गीत लेखेकी हुँ। ‘छोरीले पढेर के हुन्छ र?’ भन्ने साँघुरो सोच राख्नेहरूको मस्तिष्कमा यस गीतले उज्यालो छर्न सके समाज रूपान्तरणमा सहज हुने थियो।”
शिक्षाको उज्यालो घामबाट वञ्चित पारिएका सम्पूर्ण छोरीहरूको साझा आवाजका रूपमा प्रस्तुत गरिएको यस गीतले छोरा र छोरीबिचको विभेद अन्त्य गरी समान अवसर प्रदान गर्न अभिभावक तथा समाजलाई घचघच्याउने विश्वास निर्माण पक्षले लिएको छ।




उज्यालो खबर

