×

रुपन्देही । कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो ।

वाणगङ्गा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगङ्गा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार लागूऔषध कारोबार भइरहेको गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा सात सदस्यीय प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा खटिएको टोलीले संयुक्त रूपमा पसलमा छापा मारेको थियो ।

प्रहरीले खानतलासी गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए ।

त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइराखेको २४ ग्राम १८० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको थप चार ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै स्थानबाट बरामद भएको ब्राउन सुगरको शुद्ध तौल २८ ग्राम ८२० मिलिग्राम रहेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया