गैँडाकोट- नवलपुरको गैँडाकोटस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा स्थापित मौलाकाली केबलकार लिमिटेडको स्वामित्वमा सञ्चालित मौलाकाली इला रिसोर्ट (इला होटल एन्ड रिसोर्ट) ले खाद्य स्वच्छता तथा गुणस्तरमा ऐतिहासिक सफलता हासिल गरेको छ। रिसोर्टले कडा कानुनी मापदण्ड, उच्च स्तरको सरसफाइ र खाद्य सुरक्षाका सूचकहरूलाई पार गर्दै ‘क’ वर्ग अन्तर्गत “थ्री स्टार” (अति उत्तम) को आधिकारिक मान्यता प्राप्त गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, दमौलीका प्रतिनिधिहरूद्वारा गरिएको स्थलगत अनुगमन तथा विभिन्न सूचकहरूको सूक्ष्म मूल्याङ्कन पश्चात् रिसोर्टलाई यो प्रतिष्ठित स्टिकर प्रदान गरिएको हो।
खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यका अनुसार रिसोर्टले खाद्य स्वच्छता र गुणस्तरका मापदण्डहरूको पालना गर्दै स्तरीकरण मूल्याङ्कनमा कुल ९६ प्रतिशत अंक हासिल गरेको छ। सरकारी नियमानुसार ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने होटल तथा रिसोर्टहरूलाई मात्र ‘अति उत्तम’ (“थ्री स्टार”) को श्रेणीमा सूचीकृत गर्ने व्यवस्था छ। तोकिएका कडाभन्दा कडा मापदण्डहरूमा खरो उत्रँदै रिसोर्टले आफूलाई राष्ट्रिय स्तरको उत्कृष्ट आतिथ्यता दिने गन्तव्यको रूपमा प्रमाणित गरेको छ।

रिसोर्टमा आयोजित एक विशेष अनुगमन तथा अवलोकन कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। रिसोर्टले प्राप्त गरेको यस गौरवपूर्ण सफलताप्रति गहिरो खुसी व्यक्त गर्दै नगरप्रमुख अधिकारीले मौलाकाली केबलकार र इला रिसोर्टले समग्र गैँडाकोटको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्याएको बताए। उनले भने, “स्थानीयस्तरमा सञ्चालित यस्ता ठूला व्यावसायिक संरचनाहरूले गुणस्तर, स्वास्थ्य र सरसफाइमा ध्यान दिँदै अन्तर्राष्ट्रिय स्तरको सेवा दिनु सम्पूर्ण गैँडाकोटवासीका लागि गर्वको विषय हो।”
रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लक्ष्मण थापाले यो सफलताले आफूहरूको दायित्व अझ बढेको बताएका छन्। खुसी साट्दै सीईओ थापाले भने, “हामीले आफ्ना ग्राहकहरूको स्वास्थ्य, सरसफाइ र गुणस्तरीय सेवालाई सधैँ पहिलो प्राथमिकतामा राख्दै आएका छौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्राप्त यो “थ्री स्टार” मान्यताले हामीलाई थप जिम्मेवार बनाएको छ। यसले हाम्रा सेवाग्राहीहरूलाई अझ बढी परिष्कृत, स्वच्छ र उच्चस्तरीय सेवा प्रदान गर्न थप ऊर्जा थपेको छ।”



उज्यालो खबर

