नवलपुर। नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी त्रिवेणी आधारभूत अस्पतालमा सुलभ फार्मेसी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले एक विशेष कार्यक्रमका बीच उक्त सेवाको शुभारम्भ गर्नुभएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले गाउँपालिकाभित्र स्वास्थ्य सेवालाई थप सहज, प्रभावकारी र सर्वसुलभ बनाउन यो कदम चालिएको बताउनुभयो। अस्पतालमै सुलभ दरमा फार्मेसी सेवा उपलब्ध भएपछि सर्वसाधारण नागरिकले आवश्यक औषधि सहज रूपमा पाउने र स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुदृढ हुने अपेक्षा गरिएको छ।
उक्त शुभारम्भ समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नं. २ का वडा अध्यक्ष पुष्पा आले मगरसहित स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाले हालै मात्र स्वास्थ्य बीमा सेवा सञ्चालन तथा विस्तारका लागि सम्बन्धित मन्त्रालयसँग सम्झौता गरेको थियो। स्वास्थ्य बीमा कार्यक्रमसँगै अस्पतालमै सुलभ फार्मेसी सेवा सुरु भएपछि स्थानीय बासिन्दालाई ठूलो राहत पुग्ने देखिन्छ। अब सामान्य उपचार र औषधिका लागि पनि टाढाका सहर वा अस्पतालसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास स्थानीयले लिएका छन्।



उज्यालो खबर

