×

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई रोमाञ्चक भिडन्त हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दैछन् भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

आयोजकका अनुसार पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामा पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौं गोर्खाज आज मैदान उत्रिँदा पहिलो जितको खोजीमा हुनेछ। उता, लगातार दुई खेल जितेर उच्च मनोबलमा रहेको कर्णाली याक्स भने तेस्रो जित दर्ता गर्ने लक्ष्यमा छ। कर्णालीले यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ।

यस्तै, साँझ हुने दोस्रो खेल सुदूरपश्चिम रोयल्सका लागि निकै महत्त्वपूर्ण मानिएको छ। हालसम्म खेलेका ३ खेलमध्ये १ मा जित र २ खेलमा हार व्यहोरेको सुदूरपश्चिम अंक तालिकामा स्थिति सुधार्ने दाउमा हुनेछ।

अर्कोतर्फ, चितवन राइनोज भने प्रतियोगितामा अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित निकालेको चितवनले दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। चितवन आजको खेल जित्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने रणनीतिमा मैदान उत्रिनेछ।

तपाईको प्रतिक्रिया