गैँडाकोट- नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोट नगरपालिका–२ का करिब २०० घरधुरीलाई लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरले राहत सामग्री वितरण गरेको छ। असोज ११ गतेको बाढीका कारण समस्यामा परेका नारायणी टोल विकास संस्थाअन्तर्गतका पीडित परिवारलाई आज (शनिबार) खाद्यान्न, सरसफाइ तथा घरायसी प्रयोजनका सामानहरू हस्तान्तरण गरिएको हो।
लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) को ‘EMR29331-325R’ परियोजनामार्फत प्राप्त सहयोगबाट उक्त राहत उपलब्ध गराइएको डिष्ट्रिक्टका डिजाष्टर एण्ड रिलिफ कोअडिनेटर लायन शिबप्रसाद पण्डितले जानकारी दिनुभयो।
वितरण गरिएका सामग्रीहरूमा खाद्यान्नतर्फ चामल, नुन, तेल, मसला र सोयाबिन रहेका छन्। यस्तै, घरायसी प्रयोजनका लागि त्रिपाल, कालो म्याट, सिरक, डसना, तन्ना, सिरानीका साथै भान्साका लागि डेक्ची, डाडु, पन्यु, कचौरा, गिलास र बाल्टी प्रदान गरिएको छ। स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै पानी शुद्धीकरण गर्ने पियुष, स्यानिटरी प्याड र फिनेलसमेत वितरण गरिएको डिष्ट्रिक्टले जनाएको छ।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथि एवं गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले महान् पर्व दशैँको मुखमा बाढीपीडित नागरिकलाई सहयोग पुर्याएकोमा लायन्सको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। “विपद्को समयमा प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउनु मानवीय सेवाको उत्कृष्ट उदाहरण हो,” नगरप्रमुख अधिकारीले भन्नुभयो, “समुदायप्रति उत्तरदायी भएर गरिने यस्ता कार्यले पीडित नागरिकलाई ठूलो ढाडस मिल्छ।”
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले बाढीका कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारलाई तत्कालीन राहत पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो।
कार्यक्रममा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर दीपेन्द्रप्रसाद खतिवडा, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर कमलप्रसाद श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, डिष्ट्रिक्ट सचिव पूर्णप्रसाद शर्मा, कोषाध्यक्ष कृष्ण पाण्डे, मझुवा सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष, नारायणी टोल विकास संस्थाका अध्यक्ष प्रदीप तामाङलगायत विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यसअघि डिष्ट्रिक्ट ३२५ आरले असोज २३ गते शुक्रबार नवलपुरको लघोई क्षेत्रका २० बाढी प्रभावित घरधुरीलाई राहत सामग्री वितरण गरिसकेको छ। डिष्ट्रिक्टले नारायणी नदीको बाढीबाट प्रभावित अन्य क्षेत्रहरूमा पनि निरन्तर राहत कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।



उज्यालो खबर

