×

गैँडाकोट । गैँडाकोट नगरपालिकामा स्थानीय तह स्तरीय नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी मंसिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ । गैँडाकोट–१२, हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आज विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा नगर खेलकुद विकास समितिका सदस्य प्रकाश पौडेलले पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने बताए । उनका अनुसार सबै विधामा छात्र र छात्राका छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा भलिबल, कबड्डी, एकल तथा समूहगत रिले दौड, उफ्रने र फ्याक्ने विधासँगै मार्सल आर्टअन्तर्गत तेक्वान्दो, कराते र उसु समावेश गरिएका छन् । प्रत्येक खेलमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई प्रोत्साहन रकम दिइनेछ भने कबड्डी र भलिबलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक पौडेलले जानकारी दिए ।

यस्तै, पालिकास्तरमा पहिलो हुने विद्यालयलाई ट्रफीसहित २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । हरेक खेलका पहिलो स्थान विजेता खेलाडी तथा टोलीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट गरिनेछ ।

पत्रकार सम्मेलनमा जनता मावि व्यवस्थापन समितिका अध्यक्ष विष्णु लामिछानेले विद्यालय तहकै खेलकुदबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने बताउँदै खेलकुदले जीविकोपार्जनको बाटोसमेत खोलिरहेको धारणा राखे । विद्यालयका प्रधानाध्यापक पदमबहादुर खड्काले खेलकुदबाट विद्यार्थी स्वस्थ रहने र स्वस्थ विद्यार्थीले स्वस्थ राष्ट्र निर्माणमा योगदान पुर्‍याउने बताए ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यले नगरपालिकाले खेलकुद क्षेत्रमा पर्याप्त बजेट लगानी गर्दै आएको उल्लेख गर्दै सहभागी विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्दै अघि बढ्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया