अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारमाथि थप अनुसन्धान अघि नबढ्ने देखिएको छ। सुनारले आवाज आफ्नो नभएको बयान दिएको र पीडित महिलाले पनि त्यसबारे कतै उजुरी नदिएकोले अनुसन्धान अघि बढाउन अन्योल भएको छानबिन समितिका सदस्यहरू बताउँछन्।
सुनारले एक महिलालाई हिंसात्मक शैलीमा गाली गरेको अडियो गत असोज २६ गते बाहिरिएपछि छानबिन गर्न रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको थियो।
तर, सुनारले त्यो अडियो आफ्नो नभएको दाबी गरेका थिए। त्यसपछि रास्वपाले प्राविधिक परीक्षण गर्नेसम्मको अख्तियारी दिएर असोज २७ गते आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो।
समितिले कात्तिक १२ गते सुनारसँग ४ घण्टा बयान लिएको थियो। अब थप अनुसन्धान गर्न नपर्ने निष्कर्षसहित तिहारअघि नै आयोगलाई प्रतिवेदन बुझाउने तयारीमा समिति छ।
तिहार बिदा हुन अब एक हप्ता मात्र बाँकी छ।
अधिवक्ता तथा छानबिन समितिका संयोजक भट्टराईले सांसद सुनारसँग बयान सकेर प्रतिवेदन निर्माण र विश्लेषणको चरणमा रहेको बताए
‘छानबिनको निष्कर्षमा पुग्न लागेका छौँ। अध्ययनको विश्लेषण र राय प्रतिवेदन निर्माणमा जुटेका छौँ। तिहारअघि नै हाम्रो पार्टीको आयोगलाई रिपोर्ट दिन्छौँ। अनुशासन आयोगले धेरै होल्ड गर्दैन होला,’ उनले भने।
समितिका एक सदस्य सांसद सुनारबाट पीडित भनिएकी महिलाले दिएको अन्तर्वार्ताले अनुसन्धान अघि बढाउन समस्या भएको दाबी गरे। ती महिलासँग न्युज २४ ले अन्तर्वार्ता लिएको थियो। सो भिडिओ टेलिभिजनले समितिलाई उपलब्ध गराएको थियो।
‘पीडित भनिएकी महिलाले मेरो आवाज होइन, मलाई नमुछिदिनुस् भन्ने खालको बयान दिएपछि हामीलाई थप अनुसन्धान गर्न समस्या भयो,’ उनले भने, ‘उजुरकर्ता नभएपछि यो आवाज तेरै हो भन्दै कहाँसम्म जाने त भन्ने भयो।’
सांसद सुनारले अडियो आफ्नो नभएको र एआईनिर्मित भन्दै दाबी गरेपछि छानबिन समितिले आवश्यक परे अडियोको प्राविधिक परीक्षण गर्ने बताएको थियो।
त्यसकै लागि जनआस्थाले सार्वजनिक गरेको अडियोको सक्कल समितिले कार्यालयमै पुगेर ल्याएको थियो। न्युज २४ ले प्रसारण गरेको पीडित महिलाको अन्तर्वार्ताको भिडिओ पनि समितिले मगायो। समितिमा आईटी विज्ञ सन्तोष विसुङ्खे छन्। तर, समितिले अडियोको प्राविधिक परीक्षण पनि नगर्ने भएको छ।
‘आवाजको प्राविधिक परीक्षण गर्न कानुनी समस्या आयो। मेरो निजी कुरामा तपाईंहरू नबोल्नुस् भनेपछि अगाडि बढ्न सकिएन र रोकिनुपर्ने अवस्था देखियो। गोपनीयताको हक संविधानले पनि राखिदिएको छ,’ समितिका अर्का सदस्य भन्छन्, ‘पीडित हुँदै उजुरी आएको भए सार्वजनिक कुरा हुन्थ्यो, कानुनको अधीनमा रहेर सोध्न पनि पाइन्थ्यो। तर, उहाँले उजुर पनि नगरेको र मेरो बारेमा नबोल्नुस् भनेपछि हामी कुन हदसम्म जान मिल्ने हो भन्ने भयो। हामी सीमाबाहिर जान मिल्दैन।’
अडियो बाहिरिएपछि सांसद सुनार आफैँ सुध्रिसकेको कुरा पनि समितिमा भएको थियो। पार्टीले सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएपछि उनी अहिले चुपचाप छन्।
‘अनुशासनमा जाँदा मात्रै पनि माननीय सुनारजी धेरै हदसम्म करेक्सन भइसकेको देखिन्छ,’ एक सदस्यले सुनारबारे समितिमा चलेको चर्चा सुनाए।
अन्तिम निर्णय रवि–बालेनको हातमा
रास्वपामा सुनारको अडियो प्रकरणलाई सामान्य रुपमा लिन नहुने पक्षमा अधिकांश सांसदहरू छन्। छानबिन समिति भने अनुसन्धान रोक्ने पक्षमा देखिएको छ। तर, यसको अन्तिम निर्णय चाहिँ सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहको हातमा रहेको रास्वपा नेताहरू बताउँछन्।
समितिले जेसुकै राय दिए पनि रवि–बालेनको चाहनाबमोजिम आयोगले निर्णय गर्ने उनीहरूले बताए।
रास्वपाका एक सांसद भने सुनारलाई कारबाही गर्नुपर्ने र नगरे पछि झन् समस्या आउनसक्ने भन्दै आफूहरूले सचेत गराइरहेको बताउँछन्।
समितिले असोज २८ गतेबाट काम थालेको थियो। भट्टराई संयोजकत्वमा बनेको छानबिन समितिमा अधिवक्ता सुशीला सिम्खडा, अधिवक्ता उपेन्द्रनन्दन तिमल्सिना, अधिवक्ता सन्तोष आचार्य, रामचन्द्र कार्की, सन्तोष विसुङ्खे ९आईटी विज्ञ० छन्।




उज्यालो खबर

