चितवन- इच्छाकामना गाउँपालिकास्थित ‘इच्छाकामना आधारभूत अस्पताल’ले नवनिर्मित भवनबाट आफ्नो स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। सङ्घीय सरकारको १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको १५ शय्या क्षमताको भवनबाट औपचारिक रूपमा सेवा सुरुआत गरिएको हो।
यसअघि गाउँपालिका कार्यालय परिसरको पुरानो भवनबाट सञ्चालन हुँदै आएको अस्पताल नयाँ भवनमा सरेसँगै बिरामीलाई सेवा लिन थप सहज हुने भएको छ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार नयाँ भवन निर्माणसँगै इच्छाकामनाका स्थानीयवासीका साथै छिमेकी पालिकाका बासिन्दालाई समेत उपचारमा ठूलो राहत पुग्नेछ। “यो अस्पताल पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डको नजिक रहेकाले यहाँ सवारी दुर्घटनाका घाइतेहरू पनि उपचारका लागि आउने गर्छन्,” अध्यक्ष गुरुङले भने, “नयाँ भवनबाट सेवा सुरु भएपछि आकस्मिक उपचार अझ प्रभावकारी हुनेछ।”
अस्पतालका मेडिकल अधिकृत डा. अभिषेक लिम्बूले नयाँ भवनबाट बहिरङ (ओपिडी), चौबीसै घण्टा आकस्मिक (इमर्जेन्सी), प्रयोगशाला (ल्याब) र एक्स-रेलगायतका सेवाहरू नियमित रूपमा उपलब्ध गराइने जानकारी दिए। त्यसैगरी, अस्पतालमा समय-समयमा विशेषज्ञ चिकित्सकहरू बोलाएर पनि बिरामीको परीक्षण गर्ने गरिएको छ।
अधिकांश भूगोल पहाडी क्षेत्र रहेको चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा रहेको यस अस्पतालमा हाल जनशक्तिको भने कमी रहेको छ। हाल अस्पतालमा पालिकाका दुई र बागमती प्रदेशको छात्रवृत्ति करारका एक गरी तीन जना मात्र चिकित्सक कार्यरत छन्। दक्ष जनशक्तिको अभाव देखिएकाले थप चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापनका लागि सङ्घीय सरकारसँग माग गरिएको अस्पताल प्रशासनले जनाएको छ। रासस



उज्यालो खबर

