×

नवलपुर- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र पुनर्नस्थापनाका लागि विनयी त्रिवेणी गाउँपालिकाले रु. ३२ लाख ३० हजार राहत रकम उपलब्ध गराउने भएको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक एवम् कर्मचारीहरूका तर्फबाट एकमुष्ट सङ्कलन गरिएको सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिने निर्णय भएको हो।

गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत त्रिशूली र नारायणी तटीय क्षेत्रमा व्यापक जनधन र भौतिक पूर्वाधारको क्षति भएको थियो। सो राष्ट्रिय विपद्‌मा ऐक्यबद्धता जनाउँदै प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतद्वारा जारी विज्ञप्तिमा विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता नागरिकहरूको सकुशल फिर्ताको कामना गरिएको छ।

साथै, उद्धार तथा राहत कार्यमा अहोरात्र खटिने सुरक्षा निकाय, स्वयंसेवक र सहयोगी संस्थाहरूलाई आभार व्यक्त गर्दै गाउँपालिकाले राहत तथा पुनर्नस्थापना कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया