×

गैँडाकोट – नवलपुरको गैँडाकोट नगरपालिकास्थित मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व चयनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रन बहादुर थापा जैसी विजयी हुनुभएको छ । उहाँले चार प्रमुख दलको संयुक्त गठबन्धनका उम्मेदवार यदुप्रसाद न्यौपाने लाई पराजित गर्नुभएको हो ।

सार्वजनिक मतपरिणाम अनुसार विजयी रन बहादुर थापा जैसीले २३९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी तथा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा र राष्ट्रिय जनमोर्चाका संयुक्त उम्मेदवार यदुप्रसाद न्यौपानेले १७० मत प्राप्त गर्नुभएको छ । जैसीले ६९ मतान्तरले जित हासिल गर्नुभएको हो ।

सामुदायिक वनको नेतृत्वका लागि चार ठूला राजनीतिक दलले तालमेल गरेर संयुक्त उम्मेदवार खडा गरे पनि रास्वपाका उम्मेदवार जैसीले स्पष्ट मतान्तरसहित बाजी मार्नुभएको छ । स्थानीय स्तरमा सामुदायिक वनको व्यवस्थापन, पारदर्शिता र उपभोक्ताको हकहितलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिनुभएका जैसीको जितलाई चासोका साथ हेरिएको छ ।

निर्वाचन परिणामसँगै मुकुन्दपुर सामुदायिक वनका उपभोक्ताहरूले नयाँ नेतृत्वबाट वन संरक्षण, दिगो व्यवस्थापन तथा सामुदायिक विकासका कामले तीव्रता पाउने अपेक्षा गरेका छन् ।

तपाईको प्रतिक्रिया