×

गैंडाकोट- हालै आएको विनाशकारी बाढीको शोकलाई मध्यनजर गर्दै गैंडाकोट नगरपालिकाले यस वर्षको तीजमा कुनै पनि प्रकारको तडकभडक र सार्वजनिक कार्यक्रम नगर्न नगरवासीमा कडा आग्रह गरेको छ।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको छ। देश नै यस्तो प्राकृतिक विपत्ति र शोकमा रहेको बेला चाडपर्वका नाममा तडकभडक गर्दा पीडित परिवारहरूमा अझ गहिरो मानसिक असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराएको हो।

नगर प्रमुख मदन भक्त अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार, भदौ १५ गते बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका स्थानहरूमा गरिने औपचारिक तथा अनौपचारिक कुनै पनि तडकभडकसहितका कार्यक्रमहरू नगर्ने निर्णय गरेको छ। यस संवेदनशील अवस्थामा चाडपर्वको नाममा हुने फजुल खर्च र तडकभडकलाई पूर्ण रूपमा निरुत्साहित गर्दै नगरपालिकाले यो अपिललाई सकारात्मक रूपमा लिई पूर्ण पालना गर्न सम्पूर्ण नगरवासीलाई अनुरोध गरेको छ।

विज्ञप्तिमार्फत नगरपालिकाले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकहरूको शीघ्र खोजी, उद्धार तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ।

तपाईको प्रतिक्रिया