सालिक राम कोइराला
हामी सानो छँदा रोपाईंमा खाजा “औतिपुवा”खाने प्रचलन थियो। आहा ! आज त औतिपुवा खान पाईन्छ भनेर रोपाईंको दिन स्कुलै गईन्नथ्यो। रोपाईंको दिन आउन हप्तादिन बाँकि छँदै औंला भाँचेर बसिन्थ्यो, औतिपुवा खान पाईन्छ भनेर। खेत नजिकैको ठाँटी,चौर,बडेमानको ठुलो ढुङ्गा, आलि-कान्ला वा छहारीमा बसेर सक्नु मजाले खाजा खाईथ्यो-औतिपुवा र केराको बोंगोको अचार।
औतिपुवा चामललाई झाँतामा पिसेर बनाईएको एक प्रकारको पोषिलो र स्वादिष्ट खान्कि हो। सोंप,घिउ,बेसार र रोगब्याधबाट लड्न सक्ने अनेक बिखय मिसाएर बनाईएको यो खाजा रोपाईंमा बाहेक अन्य कुनैदिन खाँईदैन। त्यैभएर यसको बिशेष महत्व रहेको छ । रोपाईं भन्ने बित्तिकै अहिले पनि औतिपुवाकै झ-झल्को आउँछ । खेतको ठाँटी, मलेवाको बथान,औतिपुवा र केराको बोंगोको अचार ।
रोपाईंको दिन ठुलो गह्रोमा खोक लगाएर गद-गद हिलो बनाएपछि बिचबाट धानको बिउ रोप्न शुरू गरिन्थ्यो।झ्याईं-झ्याईं पञ्चेबाजा बजाएर उधुम रमाईलोसंग रोपाई हुन्थ्यो। बा-हजुरबाले बाजा बजाउने टोलीको नाइकेलाई १२ हाते फेटा बाँधिदिनुहुन्थ्यो।हाम्रो काम ब्याडबाट बिउ ओसार्ने हुन्थ्यो।सररर बिउको मुठो माथिल्लो कान्लाबाट आकासतिर हुर्याएर रोपाहारकै छेउमै पुर्याइन्थ्यो। छ्याप्प हिलो छ्यापिंदा कतिले गाली गर्थे,कतिले हिलैले सुईकाईदिन्थे।तैपनि अघ्घोर रमाइलो मानेर दिनभर काम गरिन्थ्यो।घाम-पानी क्यै नभनेर ।
खाजा खाने समयमा हल नारेका गोरूको जुवा खोलिवोरी काँधमा तेल-बेसार दलेर जुवामा खमारीको पात राखिन्थ्यो। पानीमा ढुटो मिसाएर दिएपछि एक ताउलो कुँडो गोरूले सिनित्तै पार्थ्यो। त्यसपछि बल्ल हलिहरूको खाजा सुरू हुन्थ्यो। खाजा खाँदा रोपाहारनीहरूको एकलट र हलि-बाउसेको अर्को लट हुन्थ्यो। हलिलाई मोही र थप गेडागुडीको अचार पनि हुन्थ्यो। टपरीको खाजा र काने दुनाको अचार सक्नु मिठो हुन्थ्यो र !
लहै सरर भन्दै कान्लाको वारिपारि खोक लाएर गोरू दुगार्दा बाढी आझै धमिलो पानीको हल्का आलि छचल्किएर तल्लो गह्रामा झर्थ्यो। रोप्ने मेलोमा कतै डाँडा भए हामीलाई बोलाएर खोकमा बसालेर सम्याउँथे।सक्नु मजा हुन्थेन खोकमा चढ्न।रोपाहारनीले धक फुकाएर असारे गीत गाउँथे। हलिले ‘स्याब्बास् साँहिली’, भन्दै अझ गाउन सुर्याउँथे।अरम-परममा रोपाईं गरिन्थ्यो।रूपैयाँ-पैसालाई खासै महत्व दिईन्थेन।
विकासे मल एउटा गेडो पनि छरिन्थेन। मलखतोमा जतिपनि मल थियो गाइडिंगाको। रोप्ने दिन कुटेको पिना छरिन्थ्यो । साता दिन नहुँदै धान कल्ललाएर आउँथ्यो।खेतको आलिमा भटमास र अरहर लगाईन्थ्यो।दाल-चामल एकैचोटी मंसिरमा घर भित्रन्थ्यो। ।रोपाईंको खाजामा कहिल्यै दहि-चिउरा खाईएन। त्यतिराम्रो औतिपुवालाई बिस्थापन गरेर कसले भित्र्याएको हो यो अभावै-अभावको दहि चिउरे सँस्कृति ?
( लेखक पत्रकार काेइराला प्रेस चाैतारी नेपाल नवलपुरका अध्यक्ष हुन् )