गैंडाकोट- गैंडाकोट-४ मा सक्रिय सामाजिक संस्था ‘सहयोगी महिला समूह’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । हालै देशका विभिन्न स्थानमा गएको प्राकृतिक प्रकोप र विपद्लाई मध्यनजर गर्दै समूहले १६ हजार रुपैयाँ सहयोग गरेको हो।
समूहकी अध्यक्ष कल्पना न्यौपानेले सामाजिक उत्तरदायित्व बहन गर्दै यस वर्ष तीजको अवसरमा गरिने भनिएको पारंपरिक ‘दर खाने’ औपचारिक कार्यक्रमलाई पूर्ण रूपमा रद्ध गरिएको जानकारी दिइन्। चाडपर्वमा फजुल खर्च गर्नुको सट्टा सोही रकम आपत्मा परेका नागरिकहरूको उद्धार र राहतका लागि कोषमा जम्मा गर्ने निर्णय गरिएको उनको भनाइ छ।
महिला समूहको यस किसिमको रचनात्मक र मानवीय कार्यले स्थानीय स्तरमा सकारात्मक सन्देश दिएको छ। चाडपर्वका बेला भडकिलोपन र खर्चिलो गतिविधिभन्दा विपद्मा परेकाहरूलाई प्राथमिकता दिँदै अगाडि बढेको यस कदमको अहिले गैंडाकोट क्षेत्रमा प्रशंसा भइरहेको छ।
सहयोगी महिला समूहले यसअघि पनि विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय सहायताका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। आगामी दिनहरूमा पनि समाजका अप्ठ्यारा परिस्थितिहरूमा यस्तै किसिमका सहयोगी हातहरू अगाडि बढाइने समूहले जनाएको छ।




उज्यालो खबर

