×

चितवन । जब प्राकृतिक विपत्तिले भोटेकोशी वरपरका बस्तीहरू तहसनहस बनायो, तब चितवनको नारायणगढस्थित लिटिल फ्लावर स्कुलका बालबालिकाको मन अमिलो भयो। पीडामा परेका दाजुभाइ-दिदीबहिनीको घाउमा मलम लगाउन ती बालबालिकाहरूले आफ्ना अभिभावकले खाजा खान दिएको खर्च कटाएर रकम जोहो गर्न थाले। विद्यार्थीहरूको यही निस्वार्थ र स्वतःस्फूर्त हुटहुटीबाट सुरु भएको प्रयासले अन्ततः ५ लाख रुपैयाँको ठूलो राहत कोषको रूप लियो, जुन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।

प्राकृतिक विपतिको यस घडीमा विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट १ लाख ७३ हजार ७ सय २० रुपैयाँ स्वतःस्फूर्त रूपमा सङ्कलन गरेका थिए। बालबालिकाहरूको यो पवित्र भावनालाई कदर गर्दै विद्यालयका शिक्षक तथा कर्मचारीहरूले पनि आफ्नो पारिश्रमिकबाट २ लाख ८ हजार ९ सय २८ रुपैयाँ ऐक्यबद्धता स्वरूप थपेका हुन्। विद्यार्थी र शिक्षकको यो उत्साहमा विद्यालय व्यवस्थापन पक्षले १ लाख १७ हजार ३ सय ५२ रुपैयाँ थप गरी कुल ५ लाख रुपैयाँ पुर्‍याइएको विद्यालयका स्टाफ सेक्रेटरी टि.एन. भूसालले जानकारी दिनुभयो।

किताबी ज्ञानमा मात्र सीमित नरही सानै उमेरदेखि परोपकार, मानवीय संवेदना र सामाजिक दायित्व बोध गराउनु नै सच्चा शिक्षा हो भन्ने कुरा लिटिल फ्लावर स्कुलले पुष्टि गरिदिएको छ। संकटको यो घडीमा चितवनका बालबालिका, शिक्षक र विद्यालय परिवारले देखाएको यो उच्च संस्कार र ऐक्यबद्धताले भोटेकोशीका बाढीपीडितहरूका लागि ठूलो सहारा पुग्ने स्टाफ सेक्रेटरी भूसालले बताउनुभयो।

तपाईको प्रतिक्रिया