×

गैडाकोट- विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, टोली भावना र देशभक्तिको उच्च संस्कार विकास गर्ने उद्देश्यका साथ नवलपुरस्थित गैडाकोट इङ्ग्लिस स्कुलमा राष्ट्रिय सेवा दल (एनसीसी) तालिमको औपचारिक शुभारम्भ गरिएको छ। श्री राष्ट्रिय सेवा दल, मध्य तालिम एकेडेमीको प्रत्यक्ष संयोजनमा सञ्चालन हुने २०८३ को एनसीसी क्याडेट तालिम कार्यक्रमको एक विशेष समारोहका बिच उद्घाटन गरिएको हो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा नम्बर २ वन तथा पर्यावरण सुरक्षा गणका गणपति प्रमुख सेनानी नारायण बहादुर बस्नेत प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो भने गैडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो।

कुल १०० दिनसम्म सञ्चालन हुने यस तालिममा कक्षा ११ र १२ मा अध्ययनरत १५ जना छात्र र १५ जना छात्रा गरी कुल ३० जना विद्यार्थीहरू सहभागी छन्। तालिम अवधिमध्ये ७९ दिन विद्यालय परिसरमै र बाँकी २१ दिन नेपाली सेनाको शिक्षालयमा (क्याम्प) लगेर तालिम प्रदान गरिनेछ। तालिम अवधिभर क्याडेटहरूलाई कवाज (ड्रिल), शारीरिक सुगठन, विपद् व्यवस्थापन, नेतृत्व विकास तथा राष्ट्रिय सेवा सम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान दिइनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख सेनानी नारायण बहादुर बस्नेतले एनसीसी तालिमले विद्यार्थीहरूलाई अनुशासित, साहसी र कर्तव्यनिष्ठ नागरिक बनाउनुका साथै राष्ट्रप्रतिको समर्पण भाव जगाउने बताउनुभयो। त्यसैगरी विद्यालयका प्राचार्य हिरालाल अर्यालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय सेवा दलसँगको यो सहकार्य एक ऐतिहासिक सुरुवात भएको उल्लेख गर्दै तालिमले विद्यार्थीमा नेतृत्व र उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

समारोहमा मध्य तालिम एकेडेमीका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया