×

गैँडाकोट – नवलपुरको गैँडाकोट नगरपालिकामा भएका दुई छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक वृद्ध गम्भीर अवस्थामा फेला परेका छन्।

कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट नगरपालिका–३ महेशखोला नजिकै बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना २९ प ६७०७ नम्बरको मोटरसाइकल उकालो सडकमा नियन्त्रण गुमाएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बुलिङटार घर भई हाल गैँडाकोट–३ ढोडेनीस्थित मामाघर बस्दै आएका करिब ४०/४२ वर्षीय हिराबहादुर सारुलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकामा चिकित्सकले दिउँसो ३:४५ बजे मृत घोषणा गरेका हुन्।

त्यस्तै, गैँडाकोट नगरपालिका–७ जयश्री पुल नजिकैको काठको टहरोमा करिब ६०/६५ वर्षीय एक पुरुष अचेत अवस्थामा फेला परेका छन्। नाक र मुखबाट फिँज निस्किएको तथा बोल्न नसक्ने अवस्थामा फेला परेका ती वृद्धको नाम, थर र वतन खुल्न सकेको छैन।

उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया