×

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष ‘जेनजी आन्दोलन’का क्रममा भएका दमन, हिंसा र तोडफोडको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। आन्दोलन सुरु भएको एक वर्ष पुगेको अवसरमा आज एक प्रेस वक्तव्य जारी गर्दै उनले भदौ २४ गतेका घटनालाई नेपालको लोकतान्त्रिक इतिहासकै ‘कालो दिन’को संज्ञा दिएका हुन्।

प्रचण्डले आफ्नो वक्तव्यमा युवाहरूको जायज असन्तुष्टि र आन्दोलनको मूल भावनालाई त्यसपछि भड्किएका हिंसात्मक घटनासँग जोडेर एउटै दृष्टिले हेर्न नहुने स्पष्ट पारेका छन्। युवाहरूको शान्तिपूर्ण आवाजलाई हिंसा, लुटपाट र विध्वंसमा परिणत गर्ने नियोजित प्रयास भएको दाबी गर्दै उनले यस विषयमा स्वतन्त्र र तथ्यमा आधारित छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, र राष्ट्रिय अभिलेखालयजस्ता राज्यका अति संवेदनशील तथा महत्वपूर्ण निकायहरूमा आगजनी र तोडफोड भएको थियो। यसका साथै, सरकारी र प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा समेत व्यापक क्षति पुर्‍याइएको थियो।

संयोजक प्रचण्डले राज्यका प्रमुख अंगहरूमाथि भएको सोही आक्रमण र विध्वंसलाई लक्षित गर्दै उक्त दिनलाई लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’का रूपमा चित्रित गरेका हुन्।

तपाईको प्रतिक्रिया