कावासोती – कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी निर्वाचन २०८३ को मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी निकै चुलिएको छ । यसै क्रममा संस्थाको गरिमा र व्यवस्थापनलाई नयाँ उचाइमा पुर्याउने संकल्पसहित अध्यक्ष पदका उम्मेदवार हेमप्रसाद पाण्डे (हेमु) ले सार्वजनिक गर्नुभएको लोककल्याणकारी र दूरदर्शी एजेन्डाहरूले आम मतदाता तथा उपभोक्ताहरूमाझ ठूलो उत्साह जगाएको छ।
विगतमा वडाध्यक्ष हुँदा राज्यबाट पाउने तलब, भत्ता र गाडी जस्ता सरकारी सेवा-सुविधा कहिल्यै व्यक्तिगत प्रयोजनमा नलगाई गरिब, असहाय र समाजसेवामा समर्पण गरेर “त्यागी नेता” को पहिचान बनाउनुभएका पाण्डेको उम्मेदवारीले कावासोतीबासीमा एउटा बलियो भरोसा पैदा गरेको छ।
घर-घरमा राहत: ५ हजार लिटर पानी निःशुल्क, महिलालाई विशेष सम्मान
अध्यक्षका उम्मेदवार पाण्डेले आम उपभोक्ताको दैनिक ढाड सेकिने महसुललाई कम गर्न मासिक ५ हजार लिटरसम्म खानेपानी पूर्ण रूपमा निःशुल्क गर्ने घोषणा गर्नुभएको छ, यसका साथै समाजमा महिलाहरूको सम्मान र स्वामित्व बढाउन महिलाको नाममा नयाँ धारा जडान गर्दा २५०० रुपैयाँ छुट दिने र धारा नामसारी गर्दा लाग्ने शुल्क पूर्ण रूपमा मिनाहा गर्ने उहाँको योजनाले महिला मतदाताहरू निकै उत्साहित भएका छन्।
शिक्षा, खेलकुद र सामाजिक क्षेत्रमा राज्यले नगरेको गुन
पाण्डेले नेतृत्व सम्हालेपछि गर्ने पहिलो निर्णय नै नगरका सबै सामुदायिक विद्यालयहरूमा खानेपानी पूर्ण रूपमा निःशुल्क गर्ने घोषणा गरेर शिक्षा क्षेत्रप्रतिको आफ्नो अगाध जिम्मेवारी पुष्टि गर्नुभएको छ। विद्यालय मात्र नभई युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्न नगरका सबै खेलकुद क्लबहरू, ब्याडमिन्टन हलहरू र सामाजिक संस्थाहरूमा समेत निःशुल्क पानी उपलब्ध गराउने उहाँको प्रतिबद्धताले युवा र सामाजिक अभियन्ताहरूमाझ पाण्डेको लोकप्रियता चुलिएको छ ।
सडकका सारथी अटो चालक र यात्रीको पिरमर्का बुझ्ने नेता
श्रम र श्रमिकको सम्मान गर्दै पाण्डेले नगरभित्र अहोरात्र खटिने अटो चालकहरूका लागि विभिन्न उपयुक्त स्थानमा खानेपानीको धारा जडान गर्ने र मुख्य चोकहरूमा घुम्ती शौचालय बनाउने एजेन्डा अघि सार्नुभएको छ। कावासोती नगरक्षेत्रको राजमार्ग खण्डमा अपाङ्गमैत्री आधुनिक शौचालय र शुद्ध पिउने पानीको धारा बनाउने योजनाले सिंगो नगरको सभ्यता र विकासलाई झल्काउने उपभोक्ताहरूको भनाइ छ ।
सुरक्षित भविष्य र आधुनिक प्रविधि: फायर हाइड्रेट प्रणाली
नगरमा आइपर्ने आगलागी जस्ता चरम संकट र विपद्को समयमा दमकलमा तुरुन्त पानी भर्न मिल्ने गरी ‘फायर हाइड्रेट’ प्रणाली जडान गर्ने पाण्डेको योजनाले नगरबासीको जिउधनको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। पानीको मुख्य मुहानको दीर्घकालीन संरक्षण र वैज्ञानिक व्यवस्थापन गर्दै वैकल्पिक स्रोतहरूको पहिचान गर्ने उहाँको दूरगामी योजनाले कावासोतीको आगामी पुस्तालाई समेत पानीको संकटबाट जोगाउने निश्चित छ ।
किन हेमप्रसाद पाण्डे नै कावासोतीको निर्विकल्प रोजाइ?
कोभिड–१९ को महामारीमा आफ्नै गाडी लिएर सीमानाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने र घर-घरमा खाद्यान्न पुर्याउने तिनै मनका धनी हेमप्रसाद पाण्डे आज कावासोती खानेपानी संस्थालाई राजनीतिक भागबन्डाबाट मुक्त राखी शुद्ध र सुलभ पानी वितरण गर्ने पवित्र उद्देश्यका साथ मैदानमा हुनुहुन्छ ।
“बोल्नेको पीठो बिक्छ, गर्नेको चामल पनि बिक्दैन” भन्ने उखानलाई चिर्दै पाण्डेले आफ्नो ५ वर्षे कार्यकालमा काम गरेर प्रमाणित गरिसक्नुभएको छ। त्यसैले, आफ्नो निष्कलंक छवि, सदाचारी जीवनशैली, २४ सै घण्टा जनताको सेवामा उपलब्ध हुने स्वभाव र यति सुन्दर जनपक्षीय एजेन्डाहरू बोक्नुभएका हेमप्रसाद पाण्डे (हेमु) लाई अत्यधिक बहुमतका साथ विजयी गराउन कावासोतीका ७ हजार ९ सय ९१ उपभोक्ताहरू आतुर देखिएका छन ।

उज्यालो खबर