×

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनकी छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई हाल सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेकी छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनले आफ्नै ३१ दिनकी छोरी प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेकी थिइन्।

शिशुलाई खाल्डोमा पुरेको अवस्थामा उनका पिता ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए। उनले तत्काल शिशुको उद्धार गरी उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्‍याएका थिए। तर, चिकित्सकले जाँच गरेपछि साँझ ५:४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले आरोपी मैना थापालाई नियन्त्रणमा लिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकी थापाले विगत केही समयदेखि ‘डिप्रेसन’ (मानसिक अवसाद) को औषधि सेवन गर्दै आएको खुलेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

PIC-AI

तपाईको प्रतिक्रिया