काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा व्यवसायी तथा बहुप्रतिभाशाली व्यक्तित्व अमिर सुनारलाई आफ्नो समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको छ। पार्टीले समावेशिता, क्षमता र योग्यता आधारमा नेतृत्व अगाडि बढाउने नीतिअनुसार उनलाई सूचीमा राखेको जनाएको छ।
अमिर सुनार सामाजिक, बौद्धिक र सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै आएका युवा हुन्। उनी युवामाझ लोकप्रिय हुनुका साथै सामाजिक रूपान्तरण र सकारात्मक सोच प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका छन्। सानैदेखि साहसी र आत्मविश्वासी स्वभावका उनी दशकौँदेखि सक्रिय रहेका परम्परागत राजनीतिक दलहरूको विकल्पका रूपमा वैकल्पिक शक्तिलाई स्थापित गर्न सक्ने योग्य, निर्भीक र परिणाममुखी युवा नेतृत्वको रूपमा परिचित छन्।
पार्टीले पुराना राजनीतिक अभ्यासभन्दा फरक ढङ्गले नयाँ सोच, नयाँ नेतृत्व र योग्य व्यक्तित्वलाई अवसर दिने लक्ष्य राखेको छ। सुनारको चयनले पार्टीभित्र थप उत्साह र ऊर्जा थपेको रास्वपाका नेताहरू बताउँछन्। पार्टी समर्थक र शुभेच्छुकहरूले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिँदै प्रचार–प्रसार गरिरहेका छन्। आगामी निर्वाचनमा उनको भूमिकाले संसद्मा नयाँ ऊर्जा र रचनात्मक बहस ल्याउने अपेक्षा गरिएको छ।
अमिर सुनार पार्टी स्थापना कालदेखि नै सभापति रवि लामिछानेसँग काँधमा काँध मिलाएर अघि बढ्दै आएका युवा हुन्। संगठन विस्तारका लागि उनी तल्लो तहसम्म खटिएर सक्रिय रूपमा काम गर्दै आएका छन्। आगामी पुस १२ र १३ गते हुने आन्तरिक प्रतिस्पर्धामा पार्टी सदस्यहरूलाई मतदान गर्न उनी आग्रहसमेत गरिसकेका छन्।
व्यक्तिगत पृष्ठभूमिमा, सुनार वैदेशिक रोजगारीपछि स्वदेशमै व्यवसायमा संलग्न भएका हुन्। बागलुङको जैमिनीमा जन्मेका उनी चितवनमा अध्ययन पूरा गरी हाल ज्वेलरी व्यवसायमा आबद्ध छन्।



उज्यालो खबर




