चितवन – हालै केही सञ्चारमाध्यमहरूले भदौ २४ गते प्रचण्ड निवासमा भएको घटनामा आफ्नो नाम संलग्न भएको भनी प्रसारण तथा प्रकाशन गरेको समाचारप्रति चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल ‘सुलभ’ ले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउँदै खण्डन गरेका छन्।
सिग्देलका अनुसार उक्त घटनामा कुनै प्रकारको संलग्नता नरहेको भन्दै भ्रामक प्रचारविरुद्ध सावधान रहन आग्रह गरिएको छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म सधैं युवाहरू नेपालमै स्वरोजगार बन्नुपर्छ भन्ने विश्वास राख्छु। यही उद्देश्यले विगत १० वर्षदेखि चितवनमा युवाहरूलाई रोजगारी सिर्जना गर्दै व्यवसाय सञ्चालन गर्दै आएको छु।”
व्यवसायसँगै सामाजिक कार्यमा पनि निरन्तरता दिँदै आएको उल्लेख गर्दै सिग्देलले सयौं युवाहरूलाई निःशुल्क सिपमूलक तालिम प्रदान गरिएको जानकारी दिए। साथै, हालै नेपालमा भएको जेनरेशन-ज़ेडको प्रदर्शनमा आफू शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले सहभागी भए पनि कुनै तोडफोड वा आगजनीमा संलग्न नभएको स्पष्ट पारे।
“कृपया र्यालीमा सहभागी भएको नाममा मेरो तस्बिर प्रयोग गरी विभिन्न आरोप नलगाइदिनुहोस्,” भन्दै उनले यस्ता भ्रामक समाचारहरूले व्यक्तिगत जीवन, सामाजिक प्रतिष्ठा र व्यावसायिक इमानदारीमा प्रतिकूल असर पुर्याएको गुनासो गरे।
सत्य तथ्य उजागर गर्ने जिम्मेवारी सम्बन्धित निकायको हुने भन्दै सत्य अवश्य सार्वजनिक हुने विश्वास व्यक्त गर्दै उनले सम्माननीय सञ्चारकर्मी तथा सञ्चार माध्यमलाई यथार्थमा आधारित रही जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे।




उज्यालो खबर




