गैँडाकोट नगरपालिका–१३ मा नेपाली कांग्रेसले वृहत भेला सम्पन्न गरेको छ। नगरकार्य समितिको निर्णयअनुसार १८ वटै वडामा आयोजित वृहत भेला तथा वडासम्मेलन अन्तर्गत आइतबार भएको कार्यक्रममा वडामा रहेका क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति सदस्य, टोल सभापति, भातृसंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
वडा सभापति प्रेमलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रतिनिधि एवं नगर सचिव गोविन्द घिमिरेले संगठन सुदृढ बनाउन नियमित बैठक, वार्षिक कार्ययोजना निर्माण, नयाँ घरपरिवारसँग सम्पर्क, सुख–दुःखमा सहयात्रा, भातृसंघ परिचालन र हल्लाको पछि नलागी एकजुट हुन आग्रह गरे।
त्यस्तै, भूमि व्यवस्था विभागका केन्द्रीय सदस्य प्रेमबहादुर विश्वकर्मा, क्षेत्रीय सदस्य वासुदेव अर्याल, प्रदेश सहसचिव करूणाकर पौडेल, प्रदेश सदस्य जानुका लक्ष्मी आचार्य, पूर्व वडा सभापति विश्वनाथ शर्मा, नगर सहसचिव बुद्धिप्रसाद न्युरे, नेता कालिका प्रसाद देवकोटा र नेता विष्णु गौतमलगायतले सुझाव राखेका थिए।
कार्यक्रमले कांग्रेस गैँडाकोट–१३ लाई एकजुट बनाएर अघि बढ्ने संकल्प गरेको छ। भेलाको सहजीकरण वडा सचिव नेत्र महतोले गरेका थिए।
यस अवसरमा सचिव घिमिरेले वडा सम्मेलन तयारी समिति, युवा परिचालन समिति, भातृसंघ गठन तथा परिचालन समिति, घरदैलो अभियान समिति र सामाजिक सञ्जाल परिचालन समिति गठन गर्ने प्रस्ताव गरेका थिए।



उज्यालो खबर




