नवलपुर- नवलपुरको हर्कपुरमा अवस्थित इला कम्फर्ट होटलले स्वच्छता तथा हरियाली अभियान अन्तर्गत सडक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।गैँडाकोट नगरपालिका–१२, हर्कपुरमा रहेको सो होटलले पूर्व–पश्चिम राजमार्गको डिभाइडर तथा सडक छेउछाउमा रहेका घाँस, झाडी, बुट्यान काटेर सफा गर्नुका साथै सडकमा थुप्रिएका प्लास्टिक र अन्य फोहोर संकलन गरी सडक सरसफाई गरेको हो।
भर्खरै सेवा शुभारम्भ गरेको इला कम्फर्ट होटलले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्थानीय समुदायसँग सहकार्य गर्दै यो अभियान सञ्चालन गरेको होटलका महाप्रबन्धक प्रदीप न्यौपानेले जानकारी दिनुभयो। उहाँले समुदायसँग मिलेर आगामी दिनमा अझ धेरै गतिविधि गर्ने योजना रहेको बताउनुभयो।
हर्कपुरस्थित इला कम्फर्ट, इला ब्राण्डको तेस्रो आउटलेट हो। यसअघि बागलुङमा इला कम्फर्ट र गैँडाकोटको मौलाकाली डाँडामा इला रिसोर्ट मौलाकाली सञ्चालनमा आइसकेका छन्।नेपालकै मौलिक आतिथ्य ब्राण्ड इला होटल एण्ड रिसोर्टले देशका विभिन्न पर्यटकीय गन्तव्यमा होटल तथा रिसोर्ट सञ्चालन गर्दै नेपाली परिकार र पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको सञ्चालक सचिन ढकालले बताउनुभयो।
हर्कपुरस्थित इला कम्फर्टमा ठूलो क्षेत्रफलमा वाटर पार्क तथा आवासका लागि सुविधासम्पन्न ३५ वटा कोठा रहेका छन्। नेपालकै सुप्रसिद्ध व्यापारिक घराना IME समूह अन्तर्गत सञ्चालनमा रहेको इलाले आक्रामक रूपमा देशका विभिन्न स्थानमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ।
सञ्चालक ढकालका अनुसार नेपालका सबै ठाउँ पर्यटकीय दृष्टिले आकर्षक र सम्भावनायुक्त भएकाले आन्तरिक तथा विशेष गरी विदेशी पर्यटकलाई आकर्षित गर्दै गुणस्तरीय आतिथ्य सत्कार प्रदान गर्न सके नेपालको पर्यटन प्रवर्द्धन र समग्र विकासमा महत्वपूर्ण योगदान पुग्नेछ।




उज्यालो खबर




