×

गैडाकोट- अक्सफोर्ड कलेजको आयोजनामा नवलपुरको गैडाकोटमा ‘अक्सफोर्ड मेला २०८२’ आजदेखि सुरु भएको छ । शैक्षिक, सांस्कृतिक तथा व्यवसायिक गतिविधिहरूको समन्वयमा आयोजना गरिएको उक्त मेलाको उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रो. दयाराज ढकालद्वारा गरिएको थियो। प्रमुख अतिथि ढकालले यस्ता मेलाहरूले विद्यार्थीको व्यवहारिक क्षमता, नेतृत्व विकास र सामाजिक सञ्जाल विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउने बताउनुभयो ।

उद्घाटन सत्रमा मन्तव्य राख्दै प्राचार्य भण्डारीले “विद्यार्थीकै सिर्जनात्मकता, सीप र प्रस्तुतिको प्रदर्शनका लागि अक्सफोर्ड मेला उत्कृष्ट मंच हो” भन्दै यस्ता कार्यक्रमहरूले शिक्षा प्रणालीलाई व्यवहारिक पक्षसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्तगर्नुभयो ।

त्यस्तै, मेयर अधिकारीले गैडाकोटलाई शैक्षिक हबको रूपमा विकास गर्न यस्ता कार्यक्रमहरू प्रेरणादायी हुने उल्लेख गर्दै स्थानीय तहबाट यस्ता शैक्षिक पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

व्यवसायी अमृत भट्टचनले युवाहरूलाई सिर्जनशीलता र उद्यमशीलताको मार्गमा अग्रसर गराउने यस्ता कार्यक्रमहरू भविष्यको नेतृत्व निर्माणमा महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

मेलामा १६ देखि २१ वर्ष उमेर समूहका प्लस टु सकेका विद्यार्थीहरूलाई लक्षित गरी विविध कार्यक्रमहरू सञ्चालन हुनेछन्। तीमध्ये कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, व्यापार प्रस्तुति, पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ, प्यानल छलफल, करियर गाइडेन्स, PUBG कम्पिटिसन र बास्केटबल टुर्नामेन्ट विशेष आकर्षणको रूपमा रहेका छन्।

मेलाको मूल उद्देश्य विद्यार्थीहरूलाई सिर्जनात्मकता, उद्यमशीलता र व्यवहारिक ज्ञानतर्फ प्रेरित गर्नु रहेको आयोजक पक्षले जनाएको छ। अक्सफोर्ड  मेला स्थानीय स्तरमा विद्यार्थी प्रतिभाको पहिचान गर्ने र उनीहरूलाई नेतृत्वको दिशामा अघि बढाउने एउटा प्रयास हो।

तपाईको प्रतिक्रिया