काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्नसक्ने तत्वहरूबाट जोगिएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टी बाहिर र भित्र विभिन्न तत्वहरू विभाजित गर्नेगरी लागेको भन्दै त्यसबाट जोगिन आग्रह गरे ।
‘हामी नितान्त पार्टीको आन्तरिक छलफलसँग जोडिएर छलफल गर्छौं । हामी पार्टीलाई वैचारिक हिसाबले गन्तव्य स्पष्ट गरेर पार्टीलाई अघि बढाउनेगरी लाग्नुपर्नेछ,’ उनले भने, ‘पार्टीका बाहिर र भित्रि तत्वलाई चलाएर विभाजित गर्ने तत्वहरू आए । त्यो अहिले पनि हुनसक्छ । त्यसलाई जोगाएर अघि बढ्नुपर्छ ।’
साथै, उनले अहिले पार्टी रुपान्तरणको बेला भएको र सानातिना अन्तरविरोधमा नफस्न पनि आग्रह गरे ।‘यो पार्टी रुपान्तरणको निम्ति, जनताको निम्ति बनेकाले सानातिना अन्तरविरोधमा नफस्न केन्द्रीय कमिटीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले हिजो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष ओलीको भेटवार्ताका क्रममा धेरै कुरा खुला र स्पष्ट ढंगबाट भएको पनि जानकारी गराए ।‘नेपालको राष्ट्रिय राजनीतिक कसरी अघि बढेको छ, नेकपा एमाले कसरी निशाना बनिरहेको छ, नेकपा एमालेलाई विभाजित गर्ने तत्व कसरी सलबलाइरहेका छन् । त्यसपछि विधान अधिवेशनको तयारीका बारेमा खुला छलफल गर्नुभएको छ । हाम्रा बीचमा कुनै मतभेद छैन भन्नुभएको छ,’ गौतमले जानकारी गराए ।
केन्द्रीय कमिटीका सदस्यहरूलाई ओलीले विधान संशोधनसम्बन्धी मुद्दामा पनि आ–आफ्ना धारणा राख्न भनेका छन् ।‘विधान संशोधनसम्बन्धी मुद्दामा पनि आफ्ना राय राख्नुहोस् भन्नुभएको छ । यस्ता प्रश्नहरूमा गहन छलफल गर्नुपर्छ भन्ने विषयमा उहाँ क्लियर हुनुहुन्छ,’ गौतमले भने ।



उज्यालो खबर




