काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनका लागि प्रस्तावित पार्टी विधान मस्यौदामाथि गहन छलफल हुने कार्यक्रम तय गरिएको छ।
पार्टी उपाध्यक्ष तथा विधान मस्यौदा समिति संयोजक विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोबाट अनुमोदन भइसकेको मस्यौदा आजको बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्। पार्टीका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय सदस्यहरूले मस्यौदामा धारणा राख्न पाउनेछन्, जसका लागि प्रत्येक सदस्यलाई अधिकतम तीन मिनेट समय दिइनेछ।
“सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले पहिल्यै धारणा राखिसकेकाले आजको बैठकमा केन्द्रीय सदस्यहरूलाई मात्र बोल्ने अवसर दिइएको हो,” गौतमले बताए।
एमालेमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक करिब २३० जना केन्द्रीय सदस्य रहेका छन्। सबै सदस्यले धारणा राखेमा बैठक आज र भोलिमा सकिने भनिए पनि आवश्यक परे पर्सिसम्म लम्बिन सक्ने पार्टी कार्यालयले जनाएको छ।
हालसालै बसेको सचिवालय (साउन १ गते) र पोलिटब्युरो (साउन २–३ गते) बैठकले पार्टी विधानमा रहेको ७० वर्षको उमेर सीमा र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको थियो। पौडेलद्वारा प्रस्तुत मस्यौदामा यी महत्वपूर्ण संशोधनहरू समावेश गरिने जनाइएको छ।
केन्द्रीय कमिटीबाट मस्यौदा पारित भएपछि, सो मस्यौदा मातहतका कमिटीहरूमा थप सुझाव संकलनका लागि पठाइनेछ। ती सुझावहरू समेटेर अन्तिम विधान महाधिवेशनमा प्रस्तुत गरिने एमालेले जनाएको छ।



उज्यालो खबर




