×

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ ले पार्टी कार्यालय निर्माणका लागि उपलब्ध गराउने बताएकाे जग्गा धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ।सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले कलंकीस्थित १० रोपनी १४ आना जग्गा सम्बन्धी प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने कार्यसूची प्रस्तुत गरेका हुन्।

गुरूङले २०८१ असोजमा एमालेलाई उक्त जग्गा दान दिने तथा पार्टी कार्यालय भवन निर्माण गरिदिने घोषणा गरेका थिए। त्यसपछि उक्त विषयलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको थियो।सचिवालय निर्णयको विरोध गरेको भन्दै नेतृहरू विन्दा पाण्डेउषाकिरण तिम्सेना लाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको थियो।

एमाले नेताहरूका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी भएपछि गुरूङ स्वयं पनि आफ्नो प्रस्तावबाट पछि हटिसकेका थिए।अब एमालेले बल्खुस्थित आफ्नै जग्गामा पार्टी कार्यालय भवन निर्माण गर्ने तयारी थालेको छ। नयाँ भवन निर्माण सम्पन्न नहुँदासम्म भाडाको भवन खोज्ने प्रस्ताव पनि सचिवालय बैठकमा पेश गरिएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि बल्खुमा कार्यालय भवन निर्माणमा कुनै कानुनी अवरोध नरहेको निष्कर्ष एमालेले निकालेको छ।२०७२ सालको भूकम्पपछि एमालेको मुख्यालय भवन क्षतिग्रस्त बनेपछि पार्टी विभिन्न भाडाका भवनमा सञ्चालन हुँदै आएको छ। सुरुमा धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा बसेको एमाले पछि थापाथली हाइट हुँदै हाल च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान को भवनमा सञ्चालनमा रहेको छ।

तपाईको प्रतिक्रिया