×

नवलपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते कावासोतीमा हुने निश्चित भएको छ। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार हुन गइरहेको यस अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला स्थानीय राजनीतिमा चासो र सरगर्मी बढेको छ।

अधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीको पहिलो जिल्ला सभापति बन्नका लागि नेताहरूबीच आन्तरिक संवाद र लबिइङ तीव्र बनेको छ। रास्वपा नवलपुरको नेतृत्वका लागि मुख्य रूपमा गोकुल सापकोटा, दोमन भण्डारी, नरिश्वर लामिछाने र कृष्ण गौतम आकांक्षीका रूपमा देखिनुभएको छ।

जिल्लामा रास्वपाको साङ्गठनिक जग बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका र स्थानीय स्तरमा बलियो प्रभाव रहेका सापकोटालाई दाबेदारका रूपमा हेरिएको छ भने जिल्लाका विभिन्न क्षेत्र र स्थानीय तहमा स्थापित अनुहारहरू भण्डारी, लामिछाने र गौतमले पनि नेतृत्वका लागि आन्तरिक कसरत र गृहकार्यलाई तीव्र पार्नुभएको छ। आकांक्षी नेताहरूबीच स्वस्थ प्रतिस्पर्धा र सौहार्दपूर्ण संवाद भइरहेकाले आन्तरिक लोकतान्त्रिक छनोट प्रक्रिया रोचक हुने आकलन गरिएको छ।

पार्टी स्रोतका अनुसार अधिवेशनलाई भव्य बनाउन नवलपुरका ८ वटै पालिका र ९२ वटा वडाहरूबाट चुनिएर आएका ६ सयभन्दा बढी प्रतिनिधिहरू कावासोतीमा केन्द्रित हुनेछन्। रास्वपाले अवलम्बन गर्दै आएको आन्तरिक लोकतन्त्र र “प्राइमरी इलेक्सन” को जगमा बन्ने यस जिल्ला समितिले आगामी दिनमा जिल्लाभर पार्टीको नीति र एजेन्डालाई अझ सशक्त रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

नेतृत्व चयनका लागि सकेसम्म सर्वसम्मत रूपमा सहमति जुटाउने प्रयास भइरहेको र सहमति हुन नसके लोकतान्त्रिक विधि (निर्वाचन) मार्फत नै नेतृत्वको टुङ्गो लगाइने प्रतिनिधिहरूले बताएका छन्। जेठ २४ गते हुने यो अधिवेशनले नवलपुर रास्वपाको कमान्ड कसको हातमा सुम्पिने हो, त्यसलाई राजनीतिक वृत्तमा सर्वत्र चासोका साथ हेरिएको छ।

तपाईको प्रतिक्रिया