×

पाल्पा –पाल्पा जिल्लाको दोभान–३ सिद्धबाबा मन्दिरनजिक खसेको पहिरोले एक जनाको ज्यान लिएको छ भने एक जना घाइते भएकी छन्।मंगलबार बेलुकी करिब ६ बजे तिर तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा नजिकैको भीरबाट खसेको पहिरोले बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई समातेको थियो।

मोटरसाइकल चालक जनक भण्डारी, पाल्पा रामपुर नगरपालिका–६ तालपोखरा निवासी,को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

उक्त मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती कल्पना चापागाईं घाइते भएकी छन्। प्रहरीका अनुसार दिउँसो करिब ४ बजेतिर आएको पहिरो मोटरसाइकलमाथि खस्दा चालक उछिट्टिएर झण्डै २९ मिटर तल तिनाउ खोलाको किनारमा पुगेका थिए। गम्भीर घाइते अवस्थामा उद्धार गरिएका भण्डारीको उपचारका क्रममा बाटोमै मृत्यु भएको हो।

घाइते कल्पनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था हाल सामान्य रहेको दोभान प्रहरी चौकीका प्रमुख रुम केसीले जानकारी दिए।यसैबीच, जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग तथा अन्य सहायक मार्गहरूमा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
प्रशासनका अनुसार पानी परेको बेला जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकोले यात्रु तथा सवारी चालकहरुलाई अत्यधिक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया