विराटनगर – लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ को अवसरमा मोरङ जिल्लामा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना र गैर सरकारी संस्था महासंघ नेपाल, मोरङ जिल्ला शाखाको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) हस्त बहादुर सुनारले लागू औषध दुर्व्यसन, ओसारपसार तथा नियन्त्रणसम्बन्धी विषयमा प्रस्तुतिका साथ सचेतनामूलक जानकारी दिएका थिए। कार्यक्रममा ७६ जना सहभागी थिए जसमा गैरसरकारी संस्थाका पदाधिकारी, पत्रकार, बुद्धिजीवी, तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका विशेष अतिथिमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख राजन शर्मा सापकोटा, सशस्त्र प्रहरी बल मोरङका स.प्र.ना.उ. प्रकाश खतिवडा, अधिवक्ता सिता पौडेल, कोशी प्रदेश अस्पताल विराटनगरकी डा. रुना झालगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले समाजमा फैलिँदो लागू औषधको दुष्प्रभाव विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो। प्रमुख जिल्ला अधिकारी यादवले सबै निकायबीच समन्वय र सहयोग आवश्यक रहेको भन्दै लागूपदार्थ नियन्त्रणका लागि निरन्तर प्रयास गर्नुपर्ने बताए।



उज्यालो खबर




