
कृष्णहरि पौडेल
मेरो जीवनसाथी, मेरी श्रीमती — तिमीलाई जन्मदिन को पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लाखौँलाख शुभकामना ।
२०८१/०८/१९
प्रिय, कहाँबाट सुरु गरौँ तिम्रो बयान । हरेक कुरा शब्दमा मात्र अभिव्यक्त नहुने रहेछन् l माया अपार र निराकार हुने रहेछ । बोलेर लेखेर भोगेर नसिद्धिने, तराजुमा जोख्न नसकिने, भण्डारबाट जति झिक्यो त्यति भरिने । साँच्चै नै माया शाश्वत रहेछ । मेरो हरेक अध्याय, हरेक खण्ड ,हर अनुच्छेदमा तिमी छौ। बिहानीको किरणदेखि मध्यरातको नीदमा सपनी सजाउन आएकी हुन्छेउ । मेरा हरेक ध्यानमा तिमी नै बसेकी छौ l जीवनका जटिल परिस्थितिहरूमा, विपन्नता र अभावबीचमा तिमीले एकनासले साथ र सुझाब दिइरह्यौ । तिमी मेरो जीवनको उज्यालो हौ, आशा हौ मेरो आस्थाको आकार हौ, मेरो भर हौ, भरोसा हौ, मेरो विश्वासको निश्छल रङ हौ, मेरो आँखा हौ, आँखाको नानी हौ l तिमी मेरो प्राण हौ, मेरो धड्कन हौ, मेरो आशा हौ, मेरो भरोसा र मेरो विश्वास हौ । गरिबी, अभाव र सङ्घर्षले भरिएको मेरो यो कङ्कड जस्तो उतारचढाव जीवनपथमा तिमी मात्र एक निःस्वार्थ साथ हौ । तिमी आड हौ ,अडेस हौ । उतारचढावका यावत् भारीहरू बिसाउने मेरो मनको चौतारी हौ । तिमी मेरो सर्वस्व हौ । धड्कन हौ । ढुकढुकी हौ । मलाई ‘म’ बन्न प्रेरित गर्ने मेरो अन्तःप्रेरणा हौ । मेरो ‘म’ लाई उभ्भिन धरा दिने मेरो धरती हौ । मेरो जूनलाई उज्यालिन ठाउँ दिने मेरो सिङ्गो आकाश हौ । जहाँ जाउँ, तिमी नै तिमी l हेराइमा तिमी, खोजाईमा तिमी l यो जिन्दगीको श्रुतिमधुर गजल तिमी l हाँसो, आँसु, आश्चर्य अनि गुनासो सबैमा तिमी । संसारभरिकै आदरणीय, अद्वितीय र प्रिय छौ तिमी l तिमी छौ र त म छु l तिमी छौ र त मेरो बोध छ, मेरो अनुभव छ, मेरो अस्तित्व छ, अस्तित्वको अर्थ छ मलाई ।
मेरो अन्ध आकर्षणको प्राप्ति होइनौ तिमी । मेरो चेतनाको सम्प्राप्ति हौ । तिमी मेरो सङ्घर्ष हौ । मेरो सङ्घर्ष ऊर्जा हौ । तिमी मेरो दृष्टि हौ, मेरो दृष्टिकोण हौ । तिमीप्रतिको मेरो प्रेम आसक्ति होइन आत्मीय हो। तिमीसँगको प्रेममा कतै हराएको छैन म, बरु हराएको ‘आफू’ लाई भेट्टाएको बोधमा सधैँ रमाइ रहन पाएको छु । तिम्रो प्रेममा कहिल्यै बिलाएको छैन म, बरु निदाएको आफ्नो बोधलाई ब्युँझाउने शक्ति तिमीबाट सधैँ मैले पाइरहेको छु । मेरो समर्पणमा तिमीले आफ्नो जितको अभिमान कहिल्यै दर्शाएकी छैनौ, बरु आफ्नो सम्पूर्ण जित मै माथि खन्याएर मलाई चुलीमा पुर्याउन सधैँ लालायित छौ । चुलीमा पुग्नु भनेको यात्राको अन्त्य हुनु हो भन्ने मेरा बुझाइ सही बुझाइ होइन भन्ने कुरा तिमीले हो मलाई सम्झाएको । तिमीसँगको सङ्गतबाट हो मैले बुझेको– ‘चुलीमा पुग्नु भनेको यात्राको अन्त्यको सङ्केत होइन, यात्राको वास्तविक अर्थ बोध गर्न सक्ने उचाइमा उठ्नु हो ।’ तिमी मेरो त्यही ‘उठाइ’ हौ, त्यही उचाइ हौ । तिमी मेरो जिन्दगीको सुन्दर बहार हौ l त्यो वसन्त हौ, जो बिना मौसममा पनि रङ्गीचङ्गी हरियाली छ ।
जसरी यो संसारमा बाँचिरहेको हरेक व्यक्ति स्वयंमा सम्भावनाको भण्डार हो, तिमी पनि त्यस्तै एक भण्डार हौ । ‘म’ भित्रको भण्डारबारे मलाई आकर्षित गर्न सधैँ ध्याउन्न गरि रहन्छेउ तिमी । आफूभित्रको ‘आफू” लाई आविष्कार गर्न मलाई हरपल सधैँ प्रेरित गरिरहन्छ्यौ तिमी । तिमी मेरो प्रेरणा, मेरो साथी र मेरो माया हौ। तिमी मायाको प्यारो उदाहरण हौ l तिमी मेरो अँध्यारोको अन्त्य हौ । तिमी छौ नै यस्ती कि आकाशको बादल, घनघोर वर्षा, घामको उज्यालो, जुनताराको शीतलता, धर्तीको हरियाली, फूलहरूको सुगन्ध अनि सुन्दरता, शीतको माला, असिना र हिउँको साम्राज्य, हिमाल र पहाडको लहर र जुनसुकै चीजहरूलाई तिमीसँग तुलना गर्दा मलाई फिक्का फिक्का लाग्छ । तिमीले यो कस्तो मोहनी लगायौ ? कति मीठो । कति श्रद्धेय । कति स्वप्निल । कति निकट । मेरो मनले चाहेको मोहनी । माया प्रीति लगाउनका लागि एकपल जस्तो मात्र लाग्छ यो जीवन । माया समुद्रको नुनिलो पानीझैँ हुँदोरहेछ जति पियो त्यति प्यास जाग्ने, कहिल्यै तृप्ति नहुने ।
प्रेम भनेको दुई आत्मको मिलन हो l अन्तरआत्माको आवाज हो प्रेम। एक हृदय र अर्कै हृदय जोड्ने पुल हो प्रेम। कुनै सम्बन्ध होइन प्रेम । मुटुमा मीठो धुन भनेर बजिरहने सङ्गीतको झङ्कार हो प्रेम। प्रेम आनन्द हो । प्रेम ईश्वर हो । प्रेम आस्था हो । प्रेम विश्वास हो । प्रेम पवित्रता हो l तिमी मेरो सच्चा प्रेमी हौ । तिमी बेहिसाब सित प्रेम गर्छेउ मलाई । त्यस्तो प्रेम जसमा स्वार्थको कुनै कण छैन । यस्तो प्रेम जसको कुनै सीमा छैन, जसको कुनै अन्त्य छैन l जहाँ विश्वास छ, इज्जत छ, सम्मान छ l यो असीम छ, अविराम छ, निशर्त छ । यो प्रेमयात्रामा तिमीले बहार बिछ्याइदियौ । स्वर्ग र सपनाको किरण छरिदियौ । अनि माया नै मायाको पुष्पवृष्टि गरिदियौ । तिमी मेरो जीवनको बिल्कुल निःस्वार्थ, निष्कलङ्क, निर्दोष, निष्पाप, निश्छल प्रेरणाको ऊर्जा हौ । व्यवहारमा मात्र झल्किन्छ, मौन हुन्छ प्रेम ।
जीवनको उतारचढावहरूले जीवनको यात्रा र अनुभूतिहरूलाई अझ गहिरो र अर्थपूर्ण बनाउँदो रहेछन् । परेवाले कुँड कुँड आवाज निकाल्दै चारो टिप्दै गरेको दृष्य एकपटक हेर त । त्यो प्रेमले नै त हो l कतिबेला कहाँबाट मट्याङ्ग्राले घाइते बनाउँछ भन्ने आभास हुँदाहुँदै पनि उ चारोको खोजीमा निस्किएको । उसलाई गुँडमा भएका बचेराहरूको मात्र झझल्को आएको हुन्छ। उ घन्टौँ उडेर लामो दूरी तय गरेर भएपनि चारो लैजान्छ किनकि त्यहाँ प्रेम छ । नत्र मदनले ल्हासा किन जानुपर्थ्यो र ? दशरथ माझीको अनौठो समर्पणको कथा छ l त्यो प्रेम नै त हो । । प्रेम नै त्यो सम्बन्ध हो जसले प्रेमीहरूको जीवनलाई अमर बनाइदिन्छ। प्रेम नै मानिसले अहिलेसम्मै आविष्कार गरेको सर्वाधिक सुन्दर सम्बन्ध हो। मुगल सम्राट् शाहजहाँले आफ्नी प्यारी बेगम मुमताजको स्मृतिमा भव्य ताजमहल निर्माण गरे l यो प्रेमको अनुपम उदाहरणको नमुनाका रूपमा चर्चित छ । जनरल खड्ग शमशेरले आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा पाल्पा कालीगण्डकीको किनारमा बनाएको रानीमहललाई प्रेमको प्रतीक मानिन्छ । लैला र मजनुको, रोमियो र जुलियटको र मुना र मदनको प्रेमिल जोडीहरू सदियौँ देखि सच्चा आदर्श प्रेमको प्रतीकका रुपमा छन् l आज पनि प्रेममै गीत गुन्जिन्छन्, कथा सुनाइन्छन् । जति पनि त्याग र तपस्या हुन्छन् र भविष्यमा पनि हुनेछन् त्यो सब प्रेमकै कारण हुनेछन् । प्रेम एउटा नदी हो जुन निरन्तर बहने छ l
तिमी सधैँ खुशी रहनु है प्रिय l जन्मदिनले जीवनमा आउने सम्पूर्ण चुनौतीहरूलाई साकार पार्दै पूर्ण सफलताको साथ अघि बढ्न सक्ने क्षमता प्रदान गरोस्!!
तिमीलाई जन्मदिनको लाखौँलाख शुभकामना l