×

गैँडाकोट । त्रिवेणी साहित्य प्रतिष्ठान गैँडाकोटको अध्यक्षमा इन्द्रराज पौडेल चयन हुनुभएको छ । प्रतिष्ठानको शनिवार गैँडाकोटमा सम्पन्न चौँथो साधारणसभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा भीमप्रसाद शर्मा, सचिवमा रामहरि शर्मा, सह–सचिवमा भूमिश्वर शर्मा, कोषाध्यक्षमा मुक्तिनाथ न्यौपाने रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा धर्मानन्द शर्मा, मुना धनञ्जय, उदयनाथ रेग्मी, राधा कोइराला, सुजन अधिकारी, लीला मास्कि राना, शोभा खनाल कोइराला र भूमिका तिमिल्सिना रहनुभएको छ । अधिवेशनले प्रतिष्ठानको लेखा सुपरीवेक्षण समिति संयोजकमा विष्णुमाया पन्थी र सदस्यहरुमा मिनाकुमारी खनाल र भानुभक्त सापकोटालाई चयन गरेको छ ।

अधिवेशन अघि भएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद खनालको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन शत्रमा बोल्दै गैंडाकोटका मेयर मदनभक्त अधिकारीले त्रिवेणी साहित्य प्रतिष्ठान मार्फत कला र साहित्यको बिकास गर्ने तर्फ नगर गम्भीर भएको बताउदै कला, साहित्य, संगीत र सामाजिक इतिहास बोकेका साहित्यिक प्रतिष्ठान लाई नगरपालिकाले उच्च सम्मानका साथ अघि बढाउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपमेयर शान्ति कोइराला, साहित्यकार चूडामणि बन्धु, चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनाल, आदर्श समाजका प्रधान सम्पादक कृष्ण बास्तोला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

‘त्रिवेणी साहित्य प्रतिष्ठान’ले स्थापनाको ३४ औँ वसन्तसम्म आइपुग्दा १४४ कृतिहरु प्रकाशित गरेको छ । ३३ वर्ष अघि २०४७ सालमा स्थापना गरिएको ‘त्रिवेणी साहित्य परिषद्’ नामक संस्था २०७७ सालदेखी भने ‘त्रिवेणी साहित्य प्रतिष्ठान’ का रुपमा रहेको छ । संस्थामा हाल साहित्य, कला र संगीत क्षेत्रका १७२ जना आजीवन सदस्य छन् ।

आगामी वर्ष पनि कम्तिमा विभिन्न बिधाका २० वटा थप पुस्तक प्रकाशित गर्ने, घुम्ती साहित्यका कार्यक्रम, कला र संगीत क्षेत्रका सृजनात्मक क्रियाकलापहरुलाई निरन्तरता दिदै अघि बढाउने प्रतिबद्धता राख्दै नवनिर्वाचित अध्यक्ष इन्द्रराज पौडेलले आगामी कार्यसमिति साहित्य र सामाजिक क्षेत्रमा नबिनतम कार्य गर्न लागिपर्ने बताए । गत आर्थिक वर्षमा २४ लाख ३० हजार रुपैयाँ आम्दानी विवरण रहेको प्रतिबेदन कोषाध्यक्ष धर्मानन्द शर्मा पौडेलले पेश भएको सभालाई सचिब भिम प्रसाद शर्माले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया