
– टुक प्रसाद काफ्ले ( टुके अजिव )
ईन्द्रका अगाडि स्वर्गको बयान
मिथ्या हुन्छ थाहा छ
मालिलाई कुन फुल कस्तो फुल्छ
बासना कस्तो आउँछ थाहा हुन सक्छ
तर कति बेला फुल्छ
एकिन नहुन पनि त सक्दछ
केही कुरा तिमिलाई पनि सम्झाउन मन लाग्यो
फुर्सद त छैन थाहा छ
अलिकत समय निकाली
फुर्सदमा पढ्नु है
औषधि त होइन तर मन हलुका हुनेछ
थकित गोडाहरु विश्राम मार्नेछन
सारा शरीर मुडो सरी लड्नेछ
शक्ति केन्द्रित भै दिमाग क्रियाशिल हुनेछ
मन खुला आकासमा उड्नेछ
बादलुको घुम्टो ओडि
बिस्तारै बिस्तारै हराउनेछ
कपासको भुवा सरी
कोमल अनि हलुका बनी ।
तिमी त आफ्नो भाग्य आफै कोर्न हिडेको कर्मबिर
सजिलो त छैन अवस्य
मलाई थाहा छ
गोडाहरुले विश्राम मार्न खोज्लान
थकित शरिरले कमलो बिस्तारा खोज्ला
मस्तिष्कले सम्झनै बिर्सेला
पेटले भोकनै बिर्सेला
मुटुले चालनै बिर्सेला
आँखाले दृश्यनै बिर्सेला
सारा शरीरको बोझ टाउकोमा थुपारी
दुख देला, अनाहकमै दुख्ला बेस्सरी बारम्बार।
तिमी छौ र सबै चिज छ
तिमी! तिमी नै नरहे
म र मेरो पन भेटिदैन आफै संग
मैले देखेको छु नजिक बाट
युद्ध जित्ने संग राज्य नै हुनेछ
हार्ने संग कोहि र केही चिज
रहँदै रहन्न कत्ती पनि ।
हामी हिडेका बाटाहरु आफैमा युद्ध हुन
मन कमजोर नबनाउ
आफू भित्रको ताकत लाई
शक्तिमा बदल्ने प्रयास गर
हार होइन आफ्नो युद्ध
आफैले जित्नेछौ अवस्य।
आफ्नो ख्याल आफै गर्नु है
सोध्ने त धेरै हुनेछन कस्तो छ? भनी
सबै शब्दको भाव एउटै नहुन सक्छ
बोल्ने पहिलो बहाना पनि त हुन सक्छ
राम राम भन्ने त धेरै हुनेछन
काँध थाप्ने राम र हनुमान
चामलका घुन सरोबर होलान
पीडा बाँड्न र साट्न त सकिदैन
तर तिम्रो मन जल्दा
यो मन पोल्ने छ भतभती
तिमिलाई बिझ्ने काँडाले
यो मुटु कोप्नेछ चरस्स
त्यसैले तिमी मस्त अनि स्वस्थ रहनु है
तिम्रो प्रसन्नताले मलाई
गदगद बनाउने छ हिमाल सरी
अटल हुनेछ छाती सागर सरी
डुबुल्की मार्नेछ मन डल्फिन सरी।
त्यसैले तिमीले यत्ति कुरा ख्याल राख्नु है
थकान महसुस हुनासाथ
आरामलाई सम्झनु
भोकले निम्तो गरे खानालाई भेटिहाल्नु
कत्ती अबेर नगर्नु
समयमै खानु है
इन्धन बिना इन्जिन चल्दैन भनी
पेटलाई सम्झाई रहनु है।
नदीमाथी तैरिएको डुँगा त देखेकै छौ नि!
सन्तुलन गुमाए के हुन्छ ?
त्यसैले प्रसस्त मात्रामा पानी पिउनु है
शरीरलाई सन्तुलन राख्नेछ
भोक नमेट्ला तर शक्ति दिनेछ
टाउको दुख्न दिदैन
दुखेको टाउकोमा सितलता छाउनेछ।
मुटुलाई सम्झाई रहनु है
तिम्रो चाल गतिहिन भएमा
ठुलै भुईचालो जानेछ
ठुला ठुला चट्टान पनि
टपरी गाँस्ने सिन्का सरी
हुनेछन पिट्ट पिट्ट।
बेला बेला गोडालाई सम्झाइरहनु है !
तिमिले विश्राम खोजे
गन्तव्यमा पुगिदैन भनी
थकित गोडाले निहुँ खोजी रहन सक्नेछन
जतिबेला पनि विश्राम खोज्न सक्नेछन
मेरा लागि एउटा, गलबन्दी किनि राख्नु है
दुखेका गोडाहरुमा
मेरो गल्बन्दी र तिम्रो पछ्यौरी गाँसी
मसक्क पारी बाँधिदिनु है
यात्रा सहज हुनेछ
गन्तब्य नजिकिदै जानेछ
मैले सहजै भेट्ने छु तिमिलाई
तिमिले पनि भेट्नेछ्यौ
हरेक पल पलमा
गल्बन्दीको फेरो अनि फुर्काको गाँठा सँगै।
मस्तिष्क लाई सम्झाउनु है
बिर्सनै नहुने केही चिज, बस्तु र ब्यक्तिहरु
जुन जिवन जीउने आधार हुन भनि
आँखालाई सम्झाई बुझाई रहनु
बिर्सनै नहुने तस्विरहरु
स्क्यान गरि मस्तिष्कमा राख्नु भनि।
टाढा छु
मन त तिमी सँगै छ नि
फेरि पुग्यो पनि
दुखेको टाउकोमा
यी कोमल हातले सुम्सुमाउँदै
काखमा लुटुपुटु पार्न मन नभएको कहांँ हो र?
झरीमा छाता बनि
छहारी बन्न मन नभएको कहाँ हो र?
उकालीमा लौरो बनेर
सहयात्री बन्ने मन नभएको कहाँ हो र?
धेरै कुरा अधुरै छाडेर गएकिछ्यौ
बीउ रोपि कलिलो मुना
गोडेर गएकिछ्यौ
मनको कुरा दिमागले निर्णय गर्यौ
मैले बुझाउन सकिन र चाहिन पनि
यो मेरो कमजोरी होला !
यति धेरै बुझ्ने मान्छेलाई
बुझाउन आवस्यक ठानिन पनि
मुखले केही भन्यो होला
ब्यवहारले फरक गर्यो होला
धेरै पटक धेरै कुरा भनेकै छु
मनले फरक कहिल्यै ठान्नै सकेन
केही पाउँदा हस्किने
गुमाउँदा खिन्न हुने मानबिय स्वभाव नै हो प्यारी
म पनि अछुतो रहन सकिन।
अनुभूति हामी दुबैलाई भएकै छ
हामी दुबै जना अनाडी नै हौँ
अनि आफ्नै मन मार्ने अपराधी पनि
सजाय त पाउनै पर्ने हो
पायौ र अब पुग्यो पनि
साच्ची मानव जीवन ज्युनै जानेनौ
फाटेको मन बेलैमा सिउनै जानेनौ
तिमि मेसिन बन्यौ
म दार्शनिक पात्र मात्र
पितृसत्तात्मक समाजमा
तिमिले नारित्त्व खोज्यौ
म आफैलाई आदर्श पुरुष ठानेँ
हामी बीचको दरार यहि नै हो।
आउ अब हामी सामान्य मानव बनौँ
पुस्तौ पुस्ताको अस्थित्त्व हेर त !
हामी पनि एक दिन मेटिनेनै छौ छाया सरी
म को? भन्ने भावना बिर्सिदिउँ
हामी को ? भन्ने प्रश्नको
साझा जवाफ खोजौ।
आउ अब मनका कुरा गरौँ
हामी आफ्नो खुसिको आधार
हामी नै हैनौ र?
त्यसैले हामी टुक्रिन नखोजौ
हामी सक्दै सक्दैनौँ त
फरक बाटो नरोजौँ
तिम्रो केवल एक म्यासेजको प्रतिक्षामा छु म
मात्र “आउ” भन्ने आदेश कुरि बसेको छु म
तिम्रो एक्लो र उदासी पनमा
सबै थोक बनेर आउनेछु
तिता छाडी मिठा मिठा कुरा
लिएर आउनेछु।।
तिम्रो लागि बहारै बहार बनेर आउने छु
निश्चल, चोखो माया उपहार लिएर आउनेछु।
( सर्जक काफ्ले गैँडाकाेट नगरपालिका नवलपरासी बर्दघाट सुस्तापूर्वमा कार्यरत हुनुहुन्छ ।)