×

भरतपुर । वाल्मीकि शिक्षा सदन ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टताको परम्परालाई निरन्तरता दिएको छ। विद्यालयका विद्यार्थी अनुभव पौडेल र बिप्लब गौतमले ४.०० जिपिए प्राप्त गर्दै विद्यालयलाई मात्रै होइन, समग्र चितवन जिल्लाकै शान उच्च बनाएका छन्।

विद्यालयले पछिल्ला वर्षहरूमा हासिल गर्दै आएको निरन्तर सफलतामा यस वर्षको एसईई नतिजाले थप उचाइ दिएको विद्यालय प्रशासनले जनाएको छ। अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक टोली, नियमित शैक्षिक अभ्यास तथा विद्यार्थीहरूको मेहनतका कारण विद्यालयले हरेक तहमा उल्लेखनीय सफलता प्राप्त गरिरहेको बताइएको छ।

वाल्मीकि शिक्षा सदनले एसईईमा मात्र नभई शैक्षिक सत्र २०८२ अन्तर्गत विभिन्न तहका परीक्षाहरूमा समेत उत्कृष्ट प्रदर्शन गरेको छ। कक्षा १२ विज्ञान संकायतर्फका विद्यार्थी अमन पौडेलले ३.९६ जिपिए प्राप्त गर्दै नेपाल प्रथम बन्न सफल भएका थिए। अमनको उपलब्धिले विद्यालयलाई राष्ट्रिय स्तरमै चर्चामा ल्याएको थियो।

त्यसैगरी व्यवस्थापन संकायतर्फ अनुरोध कोइरालाले ३.८६ जिपिएसहित जिल्ला दोस्रो स्थान हासिल गरेका थिए भने दिप्सन गौडेलले ३.८५ जिपिए ल्याउँदै जिल्ला तेस्रो स्थान सुरक्षित गरेका थिए।

आधारभूत तहअन्तर्गत कक्षा ८ को परीक्षामा पनि विद्यालयले उत्कृष्ट नतिजा हात पारेको थियो। अन्वेषा अधिकारी, आयन त्रिपाठी र प्रान्जली पराजुलिले ४.०० जिपिए प्राप्त गर्दै विद्यालयको गौरवलाई थप उचाइमा पुर्‍याएका थिए।

विद्यालयका प्राचार्य प्रदीप पौडेलले विद्यालयको लक्ष्य केवल परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नु मात्रै नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा केन्द्रित रहेको बताउनुभयो। उहाँका अनुसार विद्यालयले अनुशासन, नैतिक शिक्षा, आधुनिक शिक्षण पद्धति तथा अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकतामा राख्दै आएको छ।

“विद्यार्थीहरूलाई केवल शैक्षिक रूपमा मात्र होइन, जिम्मेवार, आत्मविश्वासी र सक्षम नागरिकका रूपमा विकास गर्ने हाम्रो उद्देश्य हो,” प्राचार्य पौडेलले भन्नुभयो।

उहाँले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना खुला भएको जानकारी दिँदै गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गर्न आग्रह गर्नुभयो। विद्यालयले विज्ञानतर्फ कम्प्युटर साइन्स र बायो साइन्स तथा व्यवस्थापनतर्फ जनरल म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा बिहानी तथा दिवा सत्रमार्फत अध्ययन गराउँदै आएको जनाएको छ।

लगातार उत्कृष्ट नतिजा, राष्ट्रिय तथा जिल्ला स्तरमा प्राप्त उपलब्धि र विद्यार्थीहरूको उल्लेखनीय सफलताले वाल्मीकि शिक्षा सदनलाई भरतपुर मात्र नभई नेपालकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गर्दै लगेको शिक्षा सरोकारवालाहरू बताउँछन्।

तपाईको प्रतिक्रिया