×

चितवन-  भरतपुरको सिजी ल्याण्डमार्कस्थित पपुलर युनिसेक्स सैलुनले रक्तदान लगायतका कार्यक्रम गरेर ११ औं वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा सैलुनले आज विविध कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा ३० जनाले रक्तदान गरेका छन् । सैलुनको ११ वर्ष पुरा भएको अवसरमा सैलुनले ३० जना युवाहरुलाई निःशुल्क कपाल काट्ने तालिम घोषणा गरेको छ ।

सैलुनका सञ्चालक सुलभ सिग्देलले चितवन जिल्लाभरका ३० जना युवाहरुलाई निस्शुल्क तालिम दिने बताउनुभयो । जसमा महिला र पुरुष १५/१५ जना रहनेछन् । १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरु तालिममा सहभागी हुन सक्नेछन् । यसका लागि आवेदन फारम खुला गरिएको र १५ गते अन्तर्वाता हुने उहाँले जानकारी दिनुभयो ।

अन्तवार्ताबाट ३० जना छनौट गरिनेछ । ४५ दिनसम्म उनीहरूलाई दाह्री र कपाल काट्ने तालिम दिइने छ । नेपालमा नै केही गर्ने उद्धेश्य लिएकाहरुलाई बिशेष प्राथमिकता दिईने सञ्चालक सिग्देलले बताउनुभयो । युवाहरुलाई देशमा नै रोजगारको अवस्था सृजना गर्ने र विदेश जानबाट रोक्ने मेरो योजना हो । त्यसैले नेपालमा नै केही गर्न चाहनेलाई प्राथमिकता दिईन्छु, उहाँले भन्नुभयो ।

गत वर्ष पनि सैलुनले यसरी नै निस्शुल्क तालिम आयोजना गरेको थियो । अहिलेसम्म ४० जना भन्दा बढीलाई निःशुल्क तालिम दिईएको उहाँले जानकारी दिनुभयो । सैलुनबाट सस्शुल्कसहित ५ हजार एक सय भन्दा बढीले तालिम लिईसकेका छन् । ती मध्य धेरैले आफ्नै व्यवसाय पनि सुरु गरेका छन् । केहीले विदेश गएर मनग्य आम्दानी पनि गरेका छन् । सिग्देलले नेपालमा नै केही गर्न चाहनेहरुलाई अन्य समयमा पनि बिशेष छुट दिईने बताउनुभयो ।

यस्तै सैलुनले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । उक्तक कार्यक्रम सिजी ल्याण्डमार्कको ग्राउण्ड फ्लोरमा भएको थियो । कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेका छन् । विदेशमा श्रम बेचेर स्वदेश फर्किएका सिग्देलले २०७० साउन ६ गते पपुलर युनिसेक्स सैलुन स्थापना गरी सञ्चालनमा ल्याएका थिए । अहिले सैलुनमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सैलुनले समय समयमा विद्यलाय तथा चोक-चोकमा निस्शुल्क कपाल काट्ने सेवा पनि दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया