
चितवन – भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा महायज्ञ हुने भएको छ ।रामनवमीका अवसरमा यही चैत ८ गतेदेखि १६ गते सम्म श्रीमद्देवीभावत् नवाह भक्तिज्ञान महायज्ञ हुन लागेको हो । महायज्ञको हुनेबारे आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
संयोजक श्रीधर लामिछानेले महायज्ञबाट उठेको रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिए ।
महायज्ञमा आचार्य पण्डित बुद्धिसागर भण्डारी ‘मृदुल’ को प्रमुख वाचन रहने छ । महायज्ञमा सहभागी भई सफल पारिदिन आयोजकले आग्रह गरेको छ । कमलादेवी मन्दिर ऐतिहासिक महत्वको पर्यावरणीय प्राकृतिक र धार्मिक क्षेत्र मानिन्छ । पत्रकार सम्मेलनमा कमलादेवीमन्दिर टोलका विकास सस्थाका अध्यक्ष नबिन बाबु मरह्रट्टा ,चिसापानी टोल विकास संस्थाका अध्यक्ष राजु पौडेल , समाजसेवी यमनाथ आचार्य लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।