संघर्षले नै मानिसलाई समाजमा उदाहरणीय र प्रीयपात्र बनाईदिन्छ । यस्तै संघर्ष गरेर अगाडि बढिरहेकी एक पात्रको नाम हो, रीना गुरुङ्ग । जीवनका हरेक मोडहरुमा अनवरत रूपमा गरिरहेको परिश्रमले उनलाई रीना गुरुङ्ग मात्रै बनाएन । एउटा सफल राजनीतिककर्मी पनि बनाएर छाड्यो । स्थानीय निर्वाचन २०७४ मा उनी भरतपुर महानगरका लागि उपमेयरकी उम्मेदवार थिईन् । तर परिणाम उनको पक्षमा आएन । तैपनि उनले हिम्मत हारिनन् । पछि २०७४ कै प्रदेश सभा निर्वाचनमा उनी समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बाग्मती प्रदेशको प्रदेश सभा सदस्य बन्न सफल भईन् । बुबा लालप्रसाद गुरुङ्ग र आमा टेककुमारी गुरुङ्गको जेठीे सन्तानको रुपमा नेतृ गुरुङ्गको जन्म सन् १९८३ जुलाई २१ मा पर्साको ठोरीमा भएको थियो । बुबा भारतीय सेनामा भएका कारण डेढ दुई वर्षको उमेरमा उनी आमासंग भारततर्फ लागिन् । बुबा भारतीय सेनामा जागिरे भएका कारण बाल्यकालमा भारतका विभिन्न स्थानमा रहेर उनले अध्ययन गर्नुपर्यो ।
हाल भरतपुर २१ पार्वतीपुरमा स्थायी बसोवास भएकी दुई भाईकी दिदी गुरुङ्गले स्कुले जीवनमा पढाईसंगै सधै खेलकुदमा आफुलाई अगाडी बढाउँदै लगिन् । व्यवस्थापन विषयमा अध्ययन गरेका कारण उनले कर्पोरेट क्षेत्रमा आफ्नो भविष्य खोज्न थालिन् । व्यवसायिक जीवन आफ्नै मातृभूमिमा गर्ने साेँच आयो उनलाई । त्यसै शिलशिलामा काठमाण्डौमा कालिका ग्रुपमा कर्मचारी आह्वान गरेको देखिन् । कालिका ग्रुपमा निवेदन दिईन् । कालिका ग्रुपका अध्यक्ष बिक्रम पाण्डेले लिएको अन्तर्वातामा उनी छनौट पनि भईन् । कालिका ग्रुपद्धारा सञ्चालित कालिका एफ एमको एचआरमा काम गर्ने अवसर उनले पाए। उनले कालिका एफएममा आवद्ध भएको दुई वर्षमा नै स्टेशन म्यानेजर भएर रेडियो हाक्न थालिन् ।
रेडियोमा कामगर्ने शिलसिलामा राप्रपाका शीर्ष नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेसंग २०७० सालको चुनाव र २०७४ सालको स्थानीय निर्वाचनमा चितवनका विभिन्न स्थानहरुको भ्रमण गर्ने र त्यहाँको अवस्था र समस्याहरुको बारेमा जानकार हुने अवसर गुरुङ्गलाई मिल्यो । सो समयमा महिला र आदिवासीको यथार्थ अवस्था थाहा पाँउदा कसरी सहयोग गर्न सकिन्छ भनेर मनमा कुरा खेल्न थालेको उनी बताउँछिन् । बाग्मती प्रदेश सभा सदस्य भएसंगै विभिन्न ऐन बनाउने समयमा उनको सक्रीय सहभागिता रहन गयो । करिब एक दशक पत्रकारिताको समस्यासँग नजिक भएको नाताका कारण उनले सुरुमा नै पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आवश्यकता महसुस गरिन् । उनले नीतिमा नै पत्रकार महिलाहरुका लागि वर्षमा दुई वटा तालिम लेखाउने काम गरे ।
त्यसैगरी अन्तराष्ट्रिय स्तरका खेलहरुमा सहभागिता जनाएका खेलाडीका लागि बिरामी हुँदा आर्थिक सहयोग गर्ने, दुग्ध बिकास वोर्डको सेवा शुल्कमा लगाईएको १ प्रतिशत शुल्क हटाउने काम र विभिन्न वोर्डहरु बन्दै गर्दा महिला सहभागितालाई प्राथमिकताका आधारमा सहभागि गराउनु पर्ने कुरा नीतिमा नै लेख्न सफल भएको उनी बताउँछिन् । त्यस्तै उनले आफ्ना सांसद बिकास कोषमा परेका बजेटबाट बिभिन्न स्थानमा खानेपानी, सडक, बिभिन्न धार्मीक स्थल, संघसंस्था लगाएत निर्माणको लागी बिनियोजन गरेकी छिन् । त्यस्तै उनी बजेट बिनियोजन गर्दा आफ्नो पार्टीकालाई मात्र नभई जनताको साझा ब्यक्ति भएको भन्दै कुनै दलको मात्र नभई समग्र बिकासका लागि प्रार्थमीकता दिएको बताउछिन् ।

तपाईको प्रतिक्रिया