
चितवन । पवित्र तीर्थ देवघाटधाम र गण्डकीसङ्गमको पूर्ण परिक्रमा गर्ने उद्देश्यले आयोजित देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०७९ू सम्पन्न भएको छ । नेपालको मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुर गरी तीनवटा जिल्लामा फैलिएको समग्र देवघाटधामको धार्मिक एवम् पर्यटकीय क्षेत्रको समृद्धिका निम्ति सञ्चालित परिक्रमा महोत्सवमा यस क्षेत्रका सयौँ धार्मिक संघ-संस्थाको सहभागिता रहेको थियो ।
नेपाल सन्त समाज देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको व्यवस्थापन र समन्वयमा सञ्चालन भएको महोत्सवले देवघाटमा नयाँ सम्भाव्यताको ढोका खोलेको छ । विगतमाका वर्षमा भन्दा बृहद् रुपमा सञ्चालन गरिएको परिक्रमा गलेश्वर आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरि,नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती र महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको विशेष उपस्थिति तथा प्रेरणा र अन्य सन्तहरूको सहभागितामा व्यवस्थित रूपले सञ्चालन भएको हो ।
तनहुँ, चितवन र नवलपुरमा पर्ने देवघाट क्षेत्रको २५ कि.मि. धार्मिक मार्गमा पैदल यात्रामार्फत गरिएको परिक्रमामा तीर्थयात्रीहरूको राम्राे उपस्थिति रहेको थियो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गममा शालग्राम शिला र गण्डकीको पूजा सङ्कल्प गरी गलेश्वर आश्रम पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि र हरिहर संन्यास आश्रमका पीठाधीश स्वामी ज्ञानन्द सरस्वती,महेश सन्यास आश्रमका संरक्षक स्वामी मधुसूदनानन्द गिरि तथा त्यसै आश्रमका पीठाधीश स्वमी रमणानन्द गिरिको आशीर्वचनसहित शुभारम्भ भएको परिक्रमा दिउँसो ३ बजेसम्म चलेको थियो ।
युवापुस्तालाई धार्मिक उत्तरदायित्व बोध गराउन र नवलपुरतर्फको देवघाट क्षेत्रलाई धार्मिक पर्यटनको मुख्य गन्तव्य बनाउन परिक्रमा महोत्सव फलदायी रहेकोमा महेश संस्कृत गुरुकुलम्का प्राचार्य उपप्रा. कमल सुवेदीले विशेष खुशी व्यक्त गरे । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ्गले समग्र देवघाटधामको विकासमा यो यात्रा फलदायी हुने बिश्वास ब्यक्त गर्दै यसलाइ निरन्तरता दिनु पर्ने भनाइ राख्नु भयो ।