चितवन । चितवनको राप्ती नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि आज राप्ती नगरपालिका र भरतपुर आँखा अस्पतालबीच सम्झौता भएको हो ।

सम्झौतामा राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा र नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलले हस्ताक्षर गर्नुभएको छ । अस्पताल प्रशासक दयाशंकर चौधरी, अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरे, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेको रोहवरमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार पाँच वर्षसम्म राप्ती नगरपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गर्न वार्षिक ६ लाख रुपैयाँ अस्पताललाई उपलब्ध गराउने छ । केन्द्र सञ्चालन गर्न तीन कोठे भवन पनि नगरपालिको उपलब्ध गराउने छ ।

केन्द्रमा आवश्यक पर्ने जनशक्ति, उपकरण, फर्निचर लगायतको व्यवस्थापन अस्पतालले गर्ने छ । भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक एवं सूचना अधिकारी रमेश घिमिरेका अनुसार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने उपकरण, फर्निचर लगायतमा १५ लाख रुपैयाँ खर्च हुनेछ । अस्पतालले केन्द्रमा कार्यरत जनशक्तिलाई तलब, भत्ता लगाएको सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने घिमिरेले जानकारी दिनुभयो ।

प्राविधिक, कर्मचारीहरुलाई तालिम र अन्य व्यवस्थापन गरी केन्द्र सञ्चालन गर्न भने दुई महिनाभन्दा बढी समय लाग्ने घिमिरे जानकारी दिनुभयो । भरतपुर आँखा अस्पतालले एक पालिका एक आँखा उपचार केन्द्र अभियान सञ्चालन गरेको छ । जस अनुसार राप्ती सहित चितवनका ६ वटा पालिकामा आँखा उपचार सेवा उपलब्ध छ । कालिका नगरपालिकामा केन्द्र सञ्चालन गर्न पहल भईरहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया