चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवन शाखाले विभिन्न कार्यक्रम गर्दै आज (सोमबार) १९औं वार्षिकोत्सव मनाएको छ ।एक्सपर्ट एजुकेशन चितवनले भरतपुर–१०, (रोयल सेन्चुरी) पछाडी आफ्नै भवनमा खुल्ला रक्तदान, पत्रकारिता पुरस्कार र देवघाटका वृद्धवृद्धाहरुलाई खाना खुवाएर वार्षिकोत्सव मनाएको छ ।
सोमबार विहान भएको खुल्ला रक्तदान कार्यक्रम, पुरस्कार वितरणसहितको वार्षिकोत्सव कार्यक्रमको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समुद्घाटन गरेका थिए । उनले समाजसेवी एवं रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष जनक पौडेललाई ब्लड व्याग दिएर कार्यक्रमको उद्घाटन गरेका थिए भने केक काटेर कार्यक्रममा खुशीयाली बाडेका थिए ।
सो क्रममा बोल्दै प्रमुख अतिथि उप–प्रमुख अधिकारीले अध्ययनको शिलशिलामा नेपालीहरु विदेशमा गएर बस्ने चलनले नेपालको विकास र समृद्धिमा ठूलो असर परेको भन्दै विदेशमा सिकेको ज्ञान स्वदेशमै प्रयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताए । बौद्धिक ब्यक्तिहरु अध्ययनको शिलशिलामा विदेशमा गएर स्थायी रुपमा बसोबास गर्दा त्यसको असर नेपालको विकास र समृद्धिमा परेकोमा उनले चिन्ता व्यक्त गरे ।
उनले आप्रवासीहरुलाई न्यूनीकरण गर्नु आजको आवश्यकता रहेको भन्दै विदेशमा सिकेको सीपलाई स्वदेशमा आएर प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले गुणस्तरीय शिक्षा र परामर्श दिएर नेपाली विद्यार्थीलाई अष्ट्रेलियालगायतको देशमा पठाउने गरेकोमा खुशी व्यक्त गर्दै कोही पनि गलत परामर्शका कारण विदेशमा गएर दुःख पाउने अवस्था आउन दिन नहुनेमा सबै सचेत बन्न आग्रह गरे ।
एक्सपर्ट एजुकेशनले चितवनलगायत देशका विभिन्न ठाउँहरुमा रगत अभाव भइरहेका खबरहरु आइरहेकाले खुल्ला रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा पुरुष र महिला गरि कुल ६१ जनाले रक्तदान गरेका छन् ।
वरिष्ठ पत्रकार जोशीलाई ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार’
एक्सपर्ट एजुकेशन चितवनले यसैवर्षबाट पत्रकारिता क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै पत्रकारिता पुरस्कार स्थापना गरेको छ । १९ वर्ष पुरा भई २०औं वर्ष प्रवेशको अवसरमा एक्सपर्ट चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२२’ स्थापना गरेको हो । पहिलोपटक घोषणा गरिएको यस पुरस्कार नेपाल टेलिभिजन र बीबीसी नेपाली सेवामा लामो समयदेखि क्रियाशिल वरिष्ठ पत्रकार इश्वर जोशीलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशी २५ हजार १११ रुपैयाँ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल र एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले पत्रकार जोशीलाई नगद पुरस्कार, दोसल्ला र सम्मान पत्र प्रदान गरे । पत्रकार जोशी वि.सं.२०५० सालदेखि नेपाल टेलिभिजनबाट पत्रकारिता सुरुवात गरेका थिए । उनी अहिले पनि सक्रिय रुपमा पत्रकारिता गर्दै आइरहेका छ ।
यो सुरुवातसंगै प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कलम चलाउने जिल्लाका क्रियाशिल पत्रकारहरु मध्य एक जनालाई पुरस्कार प्रदान गरिने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । त्यस्तै वार्षिकोत्सवकै अवसरमा एक्सपर्टले सोमबार साँझ नै देवघाटस्थित वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम समेत राखेको छ ।

उज्यालो खबर