चितवन । विश्व हेड एण्ड नेक क्यान्सर दिवसको अवसरमा चितवनका दन्त चिकित्सकहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नाक, कान, घाँटी युनिटले कार्यक्रम आयोजना गरेको हो । नेपाल डेण्टल एसोसिएसन चितवनको समन्वयमा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा एसोसिएसन र क्यान्सर अस्पतालको समन्वयमा हेड एण्ड नेक क्यान्सर रोग नियन्त्रण, उपचार र सचेतना फैलाउनु पर्नेमा सहभागीहरुले जोड दिनुभएको थियो ।

कार्यक्रममा नाक, कान, घाँटी क्यान्सर रोग विशेषज्ञ एवं अस्पतालका कार्यकारी निर्देशक डा।देजकुमार गौतमले हेड एण्ड नेक मध्ये ३३ प्रतिशत मुखको क्यान्सर हुने गरेको बताउनुभयो । सुपारी, सुर्ती, चुना र यी तीन पदार्थलाई मिलाईएका वस्तु सेवन क्यान्सरका मुख्य कारक रहेको उहाँको भनाई छ ।

उहाँले धेरैजसो क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल आउने बताउँदै भन्नुभयो “अन्तिम अवस्थामा आउँदा उपचार खर्च र समय दुवै बढ्छ, निको हुने सम्भावना पनि कम हुँदै जान्छ ।” उहाँले दन्त चिकित्सककहाँ पुग्ने शंकास्पद क्यान्सरका बिरामीलाई समन्वय गरेर समयमा उपचार गराउनु पर्ने बताउनुभयो ।उहाँले दुई संस्थाबीच समन्वय गरेर सचेतना र हेड एण्ड नेक स्क्रिनिङ कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । डा। गौतमले भन्नुभयो “सकभर क्यान्सर लाग्नै नदिउँ, लागि हालेमा पनि छिटो पत्ता लगाएर उपचार गरौं ।”

कार्यक्रममा अस्पतालका सिनियर कन्सल्टेन्ट हेड एण्ड नेक सर्जन डा। अनिलबिक्रम कार्कीले डेण्टल एसोसिएसन र क्यान्सर अस्पताल हातमा हात साथमा साथ भएर अघि बढ्नु पर्ने बताउनुभयो । सूर्ती, चुरोट र मदिरा सेवन नाक, कान, घाँटीमा क्यान्सर बनाउने मुख्य कारक रहेको बताउँदै उहाँले स्वस्थ जीवनशैलीसँग मुखको नियमित सरसफाई, सूर्तीजन्य पदार्थहरु, गुड्खा, सुपारी, मदिरा सेवन नगर्नु नै यस रोगबाट बच्ने उपाय भएकामा जोड दिनुभयो । हेड एण्ड नेक क्यान्सरमा नाक, आँखा, छाला, कान, मुख, ओठ, जिब्रो, स्वरनली, खाना नली, थाईराईड ग्रन्थी, ¥याली ग्रन्थी र लिम्फोमा पर्ने उहाँको भनाई छ ।

हेड एण्ड नेकको क्यान्सर हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्ने सुझाव दिंदै डा। कार्कीले धुम्रपान, मध्यपान, सूर्तीजन्य पदार्थको सेवनबाट धेरैजसो क्यान्सर हुने गरेको बताउनुभयो ।कार्यक्रममा नेपाल डेण्टल एसोसिएसन चितवन शाखाका अध्यक्ष डा। वासुराज पाण्डेले एसोसिएसन र क्यान्सर अस्पतालबीच समन्वयको अभाव रहेको बताउनुभयो । चितवनमा दुई सय जना दन्त चिकित्सक रहेको जानकारी दिंदै डा। न्यौपानेले भन्नुभयो “दुई संस्थाबीचको समन्वयमा फाराम तयार गरेर डेण्टलमा आउने बिरामीको अवस्था भर्ने व्यवस्था गर्न सके क्यान्सर रोग पहिचान गर्न सहज हुन्छ ।”

 

तपाईको प्रतिक्रिया