धनगढी। बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् ।बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए ।
धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको कर्णले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय कैलाली टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि अनुसन्धान भइरहेको जनाएको छ ।
जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । साथै चुरोट तान्न निषेध गरिएको छ । यात्रुबाट भएको गम्भीर लापरबाहीमा विमानस्थल सुरक्षामा खटिएका प्रहरीको समेत कमजोरी देखिएको छ । यस्तो वस्तु यात्रुको साथमा हुँदा दुर्घटनासम्मको जोखिम हुन्छ ।

उज्यालो खबर