पाेखरा । लायन्स क्लब अफ पोखरा पेन्गुईनले पोखरा महानगरपालिका वडा नं. ३३ को आपु कस्यारीका कृषकहरुलाई फलफूल तथा डालेघाँसका बिरुवा बितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच बन निर्देशनालय गण्डकी प्रदेशका निर्देशक रामकाजी श्रेष्ठले कृषकहरुलाई बिरुवा बितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले कृषकहरुका लागी डालेघाँस महत्वपूर्ण हुने बताउनुभयो । नेपालमा अझै पनि ८० प्रतिशत भन्दा बढी मानिसहरु कृषि पेशमा आबद्ध भएको अवस्थामा कृषिकमुखी कार्यक्रम ल्याएर लायन्स क्लबले निकै राम्रो काम गरेको बताउनुभयो ।

कृषिमा मात्र होईन डालेघाँसले पर्यावरणको क्षेत्रमा पनि काम गर्ने भएकाले यस प्रकारको बहु उपयोगी काम भएको उहाँले बताउनुभयो । कृषकहरुले बस्तुभाउ पाल्न र फलफूलका बिरुवाहरुबाट आय आर्जनको माध्यम बनाउन पनि सजिलो हुने भएकाले यो कार्य निकै प्रशंसनीय भएको उहाँको भनाई थियो । प्रदान गरिएको बिरुवाहरुलाई जतनका साथ हुर्काउन र कृषिलाई प्रबिधीमैत्री रुपमा उपयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । केही समस्या भए बोट बिरुवाबारे बुझ्न र थप बिरुवा चाहिएमा बन कार्यालयलाई सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपालकी रिजन चियर पर्सन (रिजन ४) ला. हिरा भण्डारीले वाताबरण संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमीका खेल्ने बताउनुभयो । उहाँले हरेक बर्ष धेरै जस्तो लायन्स क्लबले गर्ने बृक्षरोपण कार्यक्रमबाट लाखौं कृषिकहरु लाभान्वित भएको समेत उहाँले बताउनुभयो । डाले घाँस तथा फलफूलको बिरुवाले कृषकलाई कृषिमा सहयोग पुर्याउने बताउँदै रिजन चियर पर्सन भण्डारीले भन्नुभयो ‘वातावरणको क्षेत्रमा काम गर्न हाम्रो रिजनले बिभिन्न योजना समेत बनाएको छ’ । स्थापना भएको छोटो समयमा नै उत्कृष्ट काम गरेको भन्दै लायन्स क्लब पेन्गुईनको प्रशंसा समेत गर्नुभयो ।

उक्त कार्यक्रममा ५० घर परिवारका लागी ३२० बिरुवाहरु बितरण गरिएको थियो । जसमा इपिल–इपिल, बकाईनो, राईखनियो, बाँस , तेजपत्ता, अम्बा, चिउरी र अमलाका बिरुवाहरु रहेका छन् । बिरुवा प्राप्त गरेपछि भगवती आधारभूत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलले महानगरपालिका भएपनि अहिले सम्म कोही कसैको आँखा नपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘भन्नलाई महानगरबासी हौं तर राज्यको समेत आँखा परेको छैन’ ।

बिकासको गतिले अति नै पछि परेको बताउँदै लायन्स क्लब यहाँसम्म आएर सहयोग गरेकोमा धेरै खुसी लागेको समेत बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपाल जोन ८ का जोन चियर पर्सन ला. पदमलाल श्रेष्ठ, बन बिज्ञान बिद्यार्थी तथा एक्यापकी पूर्व कर्मचारी अस्मीता न्यौपाने, पेन्गुईनका चाटर्ड प्रेसिडेण्ट ला. सितल श्रेष्ठ, इमिडियट पास्ट प्रेसिडेण्ड ला. ज्ञान बहादुर राना, प्रथम उपाध्यक्ष ला.डण्डीराज त्रिपाठी, ला. बिकास नेपाली लगायको उपस्थिती रहेको थियो ।

क्लबका सचिव ला.सुबास अम्गाईको संचालनमा गर्नुभएको कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ पोखरा पेन्गुईनका अध्यक्ष ला. दिपक भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै अध्यक्ष भण्डारीले सहर भन्दा केही बाहिर आएर सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । महानगरपालिका भनिएपनि पनि बाटो घाटोको राम्रो बिकास नभएको, पिछडिएको क्षेत्र भएको अनुभुती आफूहरुले गरेको बताउनुभयो । बितरण गरिएका बिरुवाहरुलाई संरक्षण गर्न र फेरी–फेरी अर्को कार्यक्रम पनि यहाँ लिएर आउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया