-हरिप्रपन्न शर्मा
मेरो देश नेपालका जन सबै लड्छन् सिपाही बनी
काट्छन् दुष्मन यी उदाइ खुकुरी मर्नै परे तापनि
भोको पेट र नग्न जीर्ण तनका हुन् क्रान्तिकारी पनि
जोधाहा अति दर्बिला समरमा हट्तै नहट्ने यिनी ।१
हारेथे दुइराज्य सामु यिनका हार्छन् पछाडी पनि
हार्दैनन् नयपाल मानिस कुनै हुन् न्यायमूर्ति यिनी
खोज्दैनन् म लडूँ भनी हृदयले खोज्छन् पराई भने
छाड्दैनन् विकराल कालसम हुन् ताते दिलैले भने ।।२
चम्काए बिजुली समान जगमा नेपालको वैभव
नासो यो उनको बचाउन सके सम्मान मिल्ला तब
आफ्ना दुष्मनको बगाइ खुनले तीर्खा छ मेट्नै सब
पुर्खाको इतिहास गौरव कथा सन्तानका वैभव ।। ३
बाढी भूक्षय कम्पभू विपतमा लड्दै छ कोभीडमा
तीर्खा रोग र मृत्युका समरमा लड्दै रहे शोकमा
भाषाभेषसुकर्मसंस्कृतिकला साहित्य संसारमा
नेपाली शिर उच्च छन् जगतमा सन्न्यायका मार्गमा ।।४
नेपाली पहरा नदी र छहरा पाखापखेरावन
हुन् रोदीघर , कन्दरा ऋषिकुटी, गन्धर्व आईकन
गाई गीत सुनाउँछन् हरघडी गुन्जिन्छ गाऊँघर
काट्तै घाँस सुनाउँछिन् विरहिणी धोएर आफ्ना पिर ।।५
नेपाली पहरा कराउँछ उनै नानीहरुका व्यथा
राम्रो ताल मिलाइ शब्द लयमा सुन्दै सुनाई व्यथा
डाँडामा रुखमा बसेर विरही क्वैली रुँदै भन्दछे
नेपाली पुत हो बनाऊ घर यो मैना त्यसै भन्दछे ।। ६
आमाको शिरमा विहानपखमा श्रीसूर्यले सिन्दुर
छर्छन् नित्य सफा खुला गगनमा नाच्छन् चरा सुन्दर
लाखौं पुष्प फलादि हुन्छ रुखमा हुन्छन् सुगन्धी वन
कु्तूरी मृग सिंह वाघवघिनी डुल्छन् रमाई वन ।।७
ओजस्वी ऋषि व्यास पाण्डव सीता गार्गी उमा द्रौपदी
वाल्मीक्यादि महर्षि देव भगवान् मिल्छन् यहाँ कौमुदी
श्रीब्रह्माच्युतशङ्करादि सबको नेपाल प्यारो भूमि
हैमाद्री गिरिराज उच्च शिरवान् नेपाल क्रीडा भूमि ।। ८
ल्पेटो होमर कालिदास कविता लेख्थे यिनै भीरका
श्रीलक्ष्मीलेखनाथभानुसमले गाए कथा मर्मका
कस्तूरी मृग छर्छ गन्ध सुरभी चौरी यहाँ चर्दछ
मैरो यो नयपाल विश्वभरको उद्यान हूँ भन्दछ ।।९
धाराको जलले गिजाउँछ यहाँ पानी किनेको भनी
चौतारी वटवृक्ष रुष्ट छ यहाँ पङ्खा किनेको सुनी
कोदोगुन्द्रुक भन्छ रुष्ट मनले हे मूर्ख मान्छेहरू
ठेलाको किन चट्पटे र अमिलो खान्छौ बिगार्नेहरू ।।१०
द्यौराली वन खेत मन्दिर तथा आवास रोदीघर
चौतारी सब रुष्ट छन् विजनमा आकृष्ट देखी नर
खानावस्त्रविभूणादि अरुको लोभिन्छ देखी नर
तस्मात् दिक्क छ आज सभ्य जनको नेपाल मेरो घर ।११
आफ्ना सन्ततिको मुहार हँसिलो देखीरहूँ सर्वदा
तेजस्वी शुरवीर मर्द गतिलो उत्साहको होस् सदा
भन्छिन् साँझविहान सन्ततिहरू देखिन्न क्वै सुन्दर
हुन्छिन् खिन्न र भन्दछिन् मनमनै पाएर के हुन्छ र ।। १२
पाई बाल मुहार चारु उसको हेर्छिन् रमाई उनी
गान्धी वा नव वुद्ध हुन्छ कि भनी भन्छिन् त्यसैमा अनि
गर्छिन् आस निरास हुन्छ मनमा पाइन्न क्यै लक्षण
जन्मेला पछि भन्दछिन् मनमनै आमा बिचारीकन ।।१३
आफ्ना खातिर लड्दछौ सुतहरू नि:स्वार्थ छैनौ कुनै
छौ दुर्योधन कंस यादव सबै छैनौ इमानी कुनै
लड्छौ आपसमा पराइसितको पर्दा लडाइँ तिमी
साम्ना के गरी गर्दछौ समरमा भन्छ्यौ बुझाई तिमी । १४

तपाईको प्रतिक्रिया