गैँडाकोट – नवलपुरको गैँडाकोट–२ मा रहेको जिल्लाकै एकमात्र ‘क’ वर्गको गैँडाकोट इङ्लिस स्कुल ले एसइई २०८२ मा जिल्लाकै उत्कृष्ट नतिजा हासिल गर्दै नयाँ सफलता हात पारेको छ । विद्यालयले ९८.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै प्रथम स्थान हासिल गरेपछि उक्त उपलब्धिको सम्मानमा आज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा एसइईमा ४ जिपीए हासिल गर्ने छात्रा तेजस्वी पन्त लाई नगद एक लाख रुपैयाँसहित विशेष सम्मान गरिएको थियो । साथै उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले एसइईमा ४.०० जिपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो। तेजस्वी पन्तले आफ्नो मेहनत, लगनशीलता र आत्मविश्वासका बलमा उक्त लक्ष्य हासिल गरेपछि विद्यालयले विशेष सम्मानसहित पुरस्कार प्रदान गरेको जनाएको छ।
विद्यालयका प्राचार्य हिरालाल अर्याल, गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य लगायतले छात्रा पन्तलाई सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्राचार्य हिरालाल अर्यालले विद्यालयले केवल शैक्षिक नतिजामात्र नभई अनुशासन, संस्कार र गुणस्तरीय शिक्षालाई पनि प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको सफलता विद्यालय, अभिभावक र शिक्षकहरूको साझा मेहनतको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले विद्यार्थीहरू केवल पढाइमा मात्रै अब्बल भएर नपुग्ने भन्दै नैतिकवान, जिम्मेवार र अनुशासित नागरिक बन्न आवश्यक रहेको बताउनुभयो। उहाँले असल चरित्र, सकारात्मक सोच र सामाजिक उत्तरदायित्व बोकेका विद्यार्थी उत्पादन गर्नु नै शिक्षाको मुख्य उद्देश्य भएको धारणा व्यक्त गर्नुभयो।
त्यस अवसरमा एसइई २०८२ मा सफलता हासिल गरेका अन्य विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।




उज्यालो खबर

