हरिप्रपन्न शर्मा
हे बाबा ! अविराम दर्द घरमा छाडेर हामी कन
तिम्रो प्राण लियो नि आज कसले सोद्धै नसोधी कन
हाम्रो गास लियो नि आज कसले खानै नपाई कन
हाम्राे वास कपास नै लगि गयो थाहै नपाई कन ।।१
केले चित्त बुझाउँला नि घरको बाबा गुमाई कन
केले चित्त बुझाउँला नि दिनकै छोरीहरूको भन
जाउ काँ कसरी बसौँ नि घरमा बाबा तिमी नै भन
पाउन्नौँ ह कि बा यिनै अब यहाँ जान्नेहरुले भन ।।२
गर्थ्यौ काम विहान रात दिनमा बस्तैनथ्यौ क्यै छिन
खान्थ्यौ जे घरमा थियोे खुरुखुरू अाफै पकाई कन
सासै फेर्न थिएन फुर्सद सधैँ बेफुर्सदीला दिन
पाएनौ सुखशान्तिका रहरका खेल्ने विदाका दिन।।३
के हुन् पर्व तिहार साल नव या जन्ती विहा वर्तुन
जानेनौ ह कि बा कुनै खुस हुने अाए गएका दिन
टालेका कपडा भिरी पयरमा जुत्ता नलाई कन
हिँड्थ्यौ दैनिक काममा कहरले खाई नखाई कन ।।४
कुर्कुच्चा कर फुट्तथे शिर सधैं बाङ्गो बनाइ कन
बोक्थ्यौ घाँस म हेर्दथेँ घर बसी कान्छो झुलाई कन
खन्थ्यौ जब्बर खेतका डिल कुटो अाफै उठाई कन
चिर्थ्यौ जब्बर काठ ती दिनदिनै अाँख्ला फुटाई कन ।।५।
मौरी भीर र लेकमा बहुरमा पात्ले अँधेेेरी खोला
जान्थ्यौ है हरिया चढेर रुखका झार्थ्यौ नि डाला तल
गर्थ्यौ गोठ बिहान साँझ दिनकै जान्थ्यौ नि मेला दिन
सारा दु:ख गरी गरी प्रिय बुबा ! तिम्रो गयो जीवन ।।६
अाएका नव बैँसका दिनहरू खाना र नाना पनि
पाएनन् अनि फर्किए समयले आफै बिराना बनी
अायो यौवनमै बडा निरसिलो ढल्दो बुढ्याइँ पन
तिम्रो कारणले कुनै मनुजमा अाएन पिर्ने दिन ।।७ ।
दिन्थे ती दुइ दाजुले पनि दया आधार जानी कन
दिन्थिन् मा ममता र काख बलियो खाई नखाई कन
जेजे हुन् मनका कुरा घर बसी भन्थ्यौ नि हामीसित
ऐले कोसित छौ कहाँ कसरी छौ भन्छौ कहाँ कोसित ।८
गर्थ्यो मध्यम भाइले अघिपछी जानी नजानीकन
पढ्नेले कसरी बुझूँ म घरको पीडा नआई कन
धेरै थ्यौँ परिवार रुग्ण जननी भैंसी र गाई घर
गर्थ्यौ दैनिक कामकाम कसरी बाबा थियौ दुर्बल ।।९।।
कैले गोठ र खेतमा त कहिले पाखापखेरातिर
कैले जङ्गल भीरमा दिन गए सन्तानकाखातिर
जाँदा के सँगमा लयौ र घरमा देखिन्छ सारा धन
सारा यो कसरी बयान म गरूँ सुन्दैन कोही जन ।।१०।।
खान्थ्यौँ रे वय बालका सुतहरू पैला ,पछाडी तिमी
रुन्थ्यौँ बा वय पाँचका सुतहरू भन्थ्यौ नरोअो तिमी
हाँस्थ्यौँ रे वय सात अाठतिरका पाएर माया अनि
खेल्थ्यौँ बा बहुबार खेल रसिला साथी र भाई बनी ।।११।
हाँस्तामा पनि दु:ख लाग्छ मनमा बाबा नदेखे पछि
रोएमा बरु शान्ति मिल्छ मनमा पीडा बगाए पछि
खाँदा जे पनि दु:ख लाग्छ मनमा चिन्ता बढाए पछि
केको शान्ति र हर्ष हुन्छ मनमा अाफ्नै हराए पछि ।।१२
सम्झन्छौँ वदनारविन्द मनले खाँदा र बस्ता पनि
सम्झन्छौँ चरणारविन्द मनले हिंड्दा र खेल्दा पनि
सम्झन्छौँ दिनकै जहान घरमा जेजे भए तापनि
तिम्रा वाक्य मुहार चारु हँसिलो देख्नै नपाए पनि ।।१३
वर्षा होस् अथवा वसन्त अति नै ठण्डी र गर्मी पनि
योद्धा झैँ लडिनै रह्यौ नि घरमा लाग्दा थकानै पनि
श्रद्धा भक्ति छ बालका हृदयमा हेर्नू बसी व्योममा
मायापुष्प चढाउँछौँ चरणमा श्रद्धाञ्जली साथमा ।।१४।