Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतले बताएअनुसार घटनामा उनको संलग्नता देखिने केही आधार भेटिएको छ । ‘वस्तुस्थितिले संकेत गरेपनि उनले अभियोग स्वीकार गरेका छैनन्’, स्रोतले भन्यो, ‘त्यही कारण तत्काललाई यो विषयलाई सार्वजनिक नगरिएको हो ।’

बैतडी प्रहरी स्रोतका अनुसार उनी सार्वजनिक पदमा रहेका व्यक्ति हुन् र कञ्चनपुरबाट समातेर बैतडी ल्याइएको थियो ।

उनको शारीरको विभिन्न भागमा चिथोरिएको जस्तो चोट देखिएको छ । तर उनले रुखबाट लडेर घाउ भएको दाबी गरेका छन् । चिकित्सकले भने रुखबाट लडेको जस्तो नदेखिने बताएका छन् ।

स्रोतका अनुसार उनी २१ माघमा अपराधस्थल वरपरी देखिएका थिए ।

जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमको प्रतिवेदन र प्रहरीको म्यानुअल अनुसन्धानको अनुमान अनुसार भट्टको हत्या २ देखि ३ बजेको बीचमा भएको हो । उनी चार बजेतिर त्यसक्षेत्रमा देखिएको बैतडी प्रहरीका एक कनिष्ठ अधिकारीले  बताए ।

उनले विगतमा पनि महिलाहरुमाथि दुर्व्यवहारजन्य गतिविधि गर्ने प्रयास गरेको पाइएको समते प्रहरीले बताएको छ । भागरथी हत्या प्रकरणपछि भने उनी भारततिर भाग्न खोजेको प्रहरीको आशंका छ ।शंकास्पद व्यक्ति पक्राउबारे सोध्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंह भने प्रहरी अनुसन्धान निचोडतर्फ उन्मुख भएको बताउँछन् । यद्यपि, कोही पक्राउ परेको स्वीकार्दैनन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदी पनि घटनास्थल नजिकै रहेको प्रहरी चौकीमा बसेर अनुसन्धानको कमाण्ड र सुपरिवेक्षण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया