चितवन । चलचित्र पत्रकारिता सङ्घ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको माघ २५ गते नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा हुने साधारणसभाका क्रममा पुरस्कार प्रदान गरिने सचिव आनन्द पोखरेलले बताउनुभयो ।
साधारणसभामा फरक फरक चार वटा विधामा पाँच हजार ५५५ रुपैयाँ राशिका पुरस्कार प्रदान गर्न लागिएको पोखरेलले बताउनुुभयो । साधारसभाका क्रममा लामो समयदेखि कलाकारिता गर्दै आउनुभएका कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्कारबाट सम्मान गरिदै छ । त्यस्तै एजुर अभियसन सक्रिय पत्रकारिता पुरस्कारबाट चितवन पोष्टका किशोर खनाल, नन्दप्रसाद–सुशीला युवा पत्रकारिता पुरस्कारबाट एजटुडेज समाचारका सुशील पन्त र सेन्ट्रल कलेज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अनलाइन खबरका विजय आवाजलाई पुरस्कृत गर्न लागिएको हो ।
साधारणसभाको तयारी तीव्र गतिमा भइरहेको संघका जिल्ला अध्यक्ष रवि अधिकारीले बताउनुभयो । जिल्लामा रहेर चलचित्र पत्रकारिता गर्दै आइरहेका व्यक्तिहरुलाई संघको सदस्यता लिन प्रेरित गर्दै नयाँ सदस्यता आह्वान गरिएको समेत अधिकारीको भनाइ छ । चलचित्र पत्रकार संघ चितवनले चाँडै नै केन्द्रीय स्तरको चलचित्र पत्रकारिता सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागेको समेत उहाँले बताउनुभयो ।